प्रहरीले सार्वजनिक गर्‍यो तीनकुनेको सामूहिक हत्याका अभियुक्तलाई

| २०८० भदौ ३१ गते २०: ०५ मा प्रकाशित

काठमाडौं।राजधानीको तीनकुने गैह्रीगाउँमा भएको सामूहिक हत्या एक जनाले गरेको खुलेको छ। सामूहिक हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई आज (आइतबार) बिहान प्रहरीले पेप्सीकोलाबाट समातेको हो। पक्राउ परेपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेर बयान दिएका थिए। बोल्न नसक्ने भण्डारीको बयान प्रहरीले दोभाषेको सहयोगमा लिएको छ।

सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका उनलाई प्रहरीले सार्वजनिक गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।

घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ परेको हो। तीनकुनेमा खुकुरी प्रहारबाट ४ जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोलास्थित साथीको घरमा पुगेका थिए।

राति साथीको घरमा मूलगेट लगाएकाले उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र पसेका थिए। तर त्यहाँ उनले साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको प्रहरीले जनाएको छ।

शुक्रबार राति तीनकुनेको दिव्य सः मिलमा नवीन राईसहित दोलखा घर भएका कुमार भनिने ५५ वर्षका पूर्णबहादुर भुजेल, श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो।

यसअघि प्रहरीले हत्याको आशंकामा घटनास्थलबाटै नियन्त्रणमा लिएका दिपेन्द्र राईसहित हिजो पक्राउ परेका चारै जना छुटेका छन्। मारिएकामध्ये मोरङका नवीन राईसँग उनको रिसइबी रहेको र सोही कारण हत्या गरेको उनले बताएका छन्।

अन्य ३ जनाले हत्याबारे जानकारी पाएकाले उनीहरुको पनि हत्या गरेको बयान उनले प्रहरीसमक्ष दिएका छन्। केही दिनअघि चाबहिलमा नवीनले चलाएको बाइकको ठक्करबाट भण्डारी घाइते भएका थिए भने शुक्रबार राति भण्डारी नविन बस्ने फर्निचरमा पुगेका थिए।

केही विवाद झिकेपछि उनले झोलामा राखेको खुकुरी निकालेर नविनको हत्या गरी निस्कँदै गर्दा तल्लो तलामा बस्ने ३ जनाले पनि थाहा पाउने डरले उनीहरुको हत्या गरेको उनले स्वीकार गरेका छन्।स्रोत - थाहा खबर 

प्रतिक्रिया दिनुहोस्