विदेश जानेहरूको मेडिकल रिपोर्टमा जथाभावी, ६७ संस्था प्रतिबन्धमा

| २०८० फागुन १३ गते २१: ३८ मा प्रकाशित

१३ फागुन, काठमाडौं । काठमाडौं चण्डोलको कुण्डलिनी डाइग्नोस्टिक सेन्टर विदेश जाने नेपालीको स्वास्थ्य परीक्षण गर्न सरकारले सूचीकरण गरेको संस्था हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै यो संस्थामा अनुगमन गर्दा प्रयोगशाला नै नभएको फेला पार्‍यो । सरकारी नियमअनुसार यस्ता संस्थाको आफ्नै प्रयोगशाला हुनुपर्छ ।

प्रयोगशाला नै नभएको संस्थाले विदेश जाने नेपालीलाई स्वास्थ्य परीक्षण रिपोर्ट दिने गरेको भन्दै मन्त्रालयले २१ माघमा कुण्डलिनीलाई विदेश जानेहरुको स्वास्थ्य परीक्षण गर्न रोक लगायो ।

विदेश जाने नेपालीको स्वास्थ्य परीक्षण गर्न अनुमति पाएका कुण्डलिनीजस्तै ६७ वटा संस्थालाई १९ पुसयता प्रतिबन्ध लगाएको छ । यी स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ अनुसार मापदण्ड पूरा नगरेका मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए ।

१२ भदौ २०८० को श्रम सचिवस्तरीय निर्णयका आधारमा गठित २ उपसचिवसहितको अनुगमन तथा निरीक्षण टोलीले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको अनुगमन गरेको थियो । उक्त टोलीले गरेको अनुगमनमा यस्ता स्वास्थ्य संस्थाले मेसिन र उपकरण वर्षौंदेखि प्रयोग नगरेको पाइएको छ ।

अनमुतिपत्र लिन आवश्यक मापदण्ड पूरा गर्न किनिएका ‘मेडिकल किट’ राख्नुपर्ने फ्रिजलाई पेय पदार्थ राख्न प्रयोग गरेको अनुगमन टोलीले फेला पारेको छ । ‘मेडिकल सामग्री हुनुपर्ने रेफ्रिजेरेटरमा कोक र फ्यान्टासमेत भेटिएको’, अनुगमन टोलीले प्रतिवेदनको कैफियत खण्डमा लेखेको छ ।

प्रतिवेदनले यस्ता संस्थाले स्वास्थ्य परीक्षणका लागि आवश्यक कर्मचारी पनि नराखेको पाइएको छ । संस्थाभित्र पर्याप्त खाली क्षेत्र (स्पेस) नभएको र मेसिन र औजारहरु समेत नभएको प्रतिवेदनमा उल्लेख छ । मेसिनहरु भएपनि सञ्चालनका नरहेको भन्दै अनुगमन टोलीले कतिपय संस्थालाई रोक लगाउन सिफारिस गरेको छ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार प्रतिबन्धमा परेका धेरै मेडिकल सेन्टरले प्रयोगशालाको  मापदण्ड पूरा गरेका थिएनन् । ‘मेडिकल परीक्षण नै नगरी रिपोर्ट दिने गरिएको, वैदेशिक रोजगारको प्रणालीमा रिपोर्टको इन्ट्री नगरेको, हचुवाको आधारमा रिपोर्ट बनाएको र बाटोमा भेटिएका मान्छेलाई स्वास्थ्य प्राविधिक बनाइएकोसम्म प्रतिवेदनमा उल्लेख छ’, मन्त्रालयका एक अधिकारीले भने ।

सूचीकृत स्वास्थ्य संस्थामा उपकरण नचलेको, कम्प्युटर र प्रिन्टर मात्रै चलाइएको, परीक्षण गर्दा मापदण्ड पूरा नगरिएको, चिकित्सकको उपस्थितिविना नै रिपोर्ट बनाइएको अनुगमन टोलीले फेला पारेको छ ।

मेडिकल रिपोर्ट बनाउने संस्थामा किट र रि–एजेन्टको प्याकेट नै नखोलेको अवस्थामा भेटिएको छ । प्रयोग गरिएका सिरिञ्ज डिस्पोज समेत नगरेको टोलीले फेला पारेको छ ।

मापदण्ड पूरा गर्न एक्स–रे मेसिन किनेको तर सञ्चालनका लागि प्राविधिक नराखिएको र चलाउने नै नगरिएको समेत प्रतवेदनमा उल्लेख छ ।

टोलीले कतिपय संस्थाले आफ्नो ल्याब समेत प्रयोग नगरेको फेला पारेको छ । प्रतिवेदनमा अधिकांश मेडिकलले म्यानपावर कम्पनीले स्वास्थ्य परीक्षण गर्ने मानिस ल्याइदिएवापत कसिसन माग्ने गरेको गुनासो गरेको पनि उल्लेख छ ।

म्यानपावर कम्पनीले आफैंले भनेको ठाउँमा मेडिकल गर्न श्रमिकलाई दबाब दिने गरेका छन् । त्यसपछि मेडिकलहरुबाट कमिसन माग्ने गरेको पाइएको छ ।

मन्त्रालयले विकृत ढंगले चलिरहेका स्वास्थ्य संस्थालाई १२ माघ २०८० मा सार्वजनिक सूचना जारी गरेर १ महिनाभित्र मापदण्ड पूरा गर्न सूचित गराएको थियो । तर, धेरैजसो मेडिकल संस्थाहरुले अझै पनि मापदण्ड पूरा गर्न रुचि देखाएका छैनन् । यस्तो गर्नेहरुलाई सफाइको मौका दिएर अनुमतिपत्र खारेज गर्नसक्ने कानुनी व्यवस्था छ ।

को–को परे प्रतिबन्धमा ?

श्रम मन्त्रालयले अनुगमन प्रतिवेदनको आधारमा ६७ संस्थालाई स्वास्थ्य परीक्षण नदिने निर्णय गरेपछि ती संस्थाहरु प्रतिबन्ध खुलाउन लबिङमा लागेका छन् ।

३ वटा स्वास्थ्य संस्थाले अनुमतिपत्र नवीकरण नगरेको र ६७ वटालाई रोक लागेको अवस्थामा १४५ वटा संस्थाले मात्रै विदेश जाने नेपालीको स्वास्थ्य परीक्षण गर्न सक्छन् ।

यो वर्ष रोज इन्टरनेसनल मेडिकल सर्भिसेज, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र गोल्डेनगेट पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरले भने अनुमतिपत्र नवीकरण गरेनन् ।

सरकारले वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिन सक्ने गरी २१५ वटा संस्थालाई सूचीकृत गरेपनि अब ७० वटा संस्था वैदेशिक रोजगार विभागको प्रणालीमा मेडिकल रिपोर्ट नै राख्न नपाउने गरी ‘ब्लक’ भएका हुन् ।

वैदेशिक रोजगार ऐन २०६३ मा सूचीकृत संस्थाहरूले मात्रै वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था छ ।

मनत्रालयका अनुसार झापा बिर्तामोडको ओम मेडिकल एन्ड डाइग्नोस्टिक सेन्टर र मंगलदीप मेडिकल एन्ड डाइग्नोस्टिक सेन्टर, सुनसरी इटहरीको सनसाइन मेडिकल एन्ड डाइग्नोस्टिक सेन्टर, अविदा इन्टरनेसनल पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, बुद्ध साइ डाइग्नोस्टिक, समाजकल्याण पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, पाथिभरा मेडिकल सेन्टर र कान्तिपुर पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरलाई मेडिकल गर्न रोक लागेको छ ।

यस्तै पोखराको सनसाइन हेल्थ केयर सेन्टर, नेपालगञ्जको नेपालगञ्ज पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र एभरेष्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरलाई मेडिकल गर्न रोक लगाइएको छ । धनुषाका जीवनदीप मेडिकल एन्ड पोलिक्लिनिक सेन्टर, रिलिफ मेडिकेयर सेन्टर र  माँ जानकी इन्टरनेशनल सेन्टर पनि ब्लक भएकाहरुको सूचीमा छन् ।

यसबाहेक अरु सबै मेडिकल सेन्टरहरु काडमाडौं उपत्यकाभित्रकै छन् । वर्ल्डवाइड मेडिकल सेन्टर, हिमाल इन्टरनेशनल मेडिकल सेन्टर, युनिकर्न मेडिकल सेन्टर, अरुण मेडिकल सेन्टर, बुद्ध इन्टरनेशनल मेडिकल सेन्टर, ओस्कार मेडिकल सेन्टर, ट्यालेन्ट मेडिकल एन्ड डायग्नोस्टिक सेन्टर, इवन मेडिकल सेन्टर र युनिकर्न हेल्थ केयर सेन्टर पनि प्रतिबन्धमा परेका छन् ।

श्रीकुन्ता पोलिक्लिनिक एन्ड हेल्थ केयर सेन्टर, पीके डायग्नोस्टिक सेन्टर, अकबर मेडिकल, सान हेल्थ केयर सेन्टर, सुनगाभा पोलिक्लिनिक, एसियन प्लस मेडिकल सेन्टर, भानु मेमोरियल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, जलविनायक मेडिकल सेन्टर, फ्रेन्डसिप हेल्थ केयर सेन्टर, युनाइटेट डायग्नोस्टिक सेन्टर, फ्युजन स्वास्थ्य क्लिनिक, सिटी टप मेडिकल सेन्टर, मेरापिक मेडिकल सेन्टर, आशीर्वाद स्वास्थ्य सेवा क्लिनिक, सिद्धकाली मेडिकल सेन्टर,  छाब्दी बाराही मेडिकल सेन्टर र पूजा मेडिकल डायग्नोस्टिक सेन्टरले पनि परीक्षण गर्न नपाउने मेडिकलको सुचीमा छन् ।

उपत्यकाकै यूभी स्वास्थ्य क्लिनिक, ब्राइट मेडिकल सेन्टर, जानकी इन्टरनेशनल मेडिकल सेन्टर, नेपाल जनता डायग्नोस्टिक सेन्टर, रिजा मेडिकल एन्ड डायग्नोस्टिक सेन्टर, संपृप्ति मेडिकल सेन्टर, धौलागिरी हेल्थ केयर सेन्टर, हेल्दी लाइफ इन्टरनेसनल मेडिकल सेन्टर, साइबाबा मेडिकल सेन्टर, नवदुर्गा पोलिक्लिनिक, सिजन्स मेडिकल सेन्टर, नेपाल सिद्धार्थ सदन क्लिनिक, क्युरेक्स डायग्नोस्टिक सेन्टर, डायमन्ड हेल्थ केयर सेन्टर, कुण्डलिनी डायग्नोस्टिक सेन्टर, हेल्पिङ हेल्थ पोलिक्लिनिक, माउन्ट एभरेस्ट डायग्नोस्टिक एन्ड मेडिकल सेन्टर र ओमसिद्धि पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरको अनुमति पनि अहिले निलम्बनमा छ ।

प्याराडाइज इन्टरनेशनल मेडिकल सेन्टर, समानान्तर मेडिकल सेन्टर, कोहिनुर हेल्थ केयर सेन्टर, प्राइकल हेल्थ केयर सेन्टर, सक्षम मेडिकल सेन्टर, रिलायन्स हेल्थ केयर सेन्टरको नाम पनि सोही सूचीमा छ ।

नेपालबाट मलेसिया, साउदी अरब र कतार जाने श्रमिकले सरकारले सूचीकृत गरेका संस्थाबाट मेडिकल गराउन पाउँदैनन् । मलेसियाका लागि मलेसियन सरकारले ३६ र साउदी अरबले  १९ वा मेडिकल संस्थालाई मात्रै अनुमति दिएको छ । कतार सरकारले कतार भिसा सेन्टरमार्फत नै स्वास्थ्य परीक्षण गर्छ । सरकारले स्वास्थ्य परीक्षण संस्थालाई नियमन गर्न नसक्दा फर्जी स्वास्थ्य प्रतिवेदन बनाउने धन्दा बढ्दै गएको वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् ।

श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेल अनुगमनपछि तोकिएअनुसार मापदण्ड पुगेकाहरुलाई मापदण्ड पूरा गर्न समय दिएको बताउँछन् । ‘उहाँहरुले मापदण्ड पुर्‍याए/नपुर्‍याएको हेरेर अर्को निर्णय हुन्छ,’ उनले भने,‘यसअघिको अनुगमनबाट १४५ वटा संस्था मात्रै मेडिकल गर्न योग्य भेटिएका छन् ।’स्रोत- अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्