अब एक घण्टाभित्रै श्रम स्वीकृति : मन्त्री अर्याल

| २०८० चैत २५ गते १७: ४१ मा प्रकाशित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । आइतबार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा उनले अबदेखि सबै प्रकारका श्रम स्वीकृति एक घण्टाभित्रै प्रदान गरिने बताएका हुन् ।

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास गरिएको जानकारी गराए । अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको दुई मिनेट ४४ सेकेन्डमा स्वीकृत गर्न सक्ने अवस्था रहेको उनले उल्लेख गरे । तर, प्रविधिका समस्या, प्रणाली, विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति दिन सकिने उनले स्पष्ट पारे ।

उनले वैदेशिक रोजगारीमा जानेले सम्पूर्ण कागजात अनलाइनबाट पेस गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृति पाउन सक्ने बताए । पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति ‘पेन्डिङ’मा नभएको उनको भनाइ छ ।

उनले सेवा दिन सरकारले आवश्यक प्रविधि र सफ्टवयेरमा समेत सुधार गरिरहेको बताए । “...डकुमेन्टमा शंका लागेमा रिजेक्सनमा राख्छौँ । त्यसको लागि आवश्यक प्रविधि र कम्प्युटरलगायत अन्य कुरामा सुधार गरिरहेका छौँ,” उनले भने, “दैनिक रूपमा दुई सिप्टमा काम भइरहेको छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म गरिएको छ । त्यसलाई पनि बिहान १० देखि ५ बजेसम्म नै गर्छौँ ।”

मन्त्री अर्यालले पहिलोपटक यो कार्य सुरुआत गरिएको भन्दै भोलिका दिनमा पनि निरन्तरता पाउने बताए । उनले वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको घोषणा गरे ।

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि हुने ठगी रोक्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारमा रहेको बिमा, स्वास्थ्य, अभिमुखीकरणलगायत कुनै पनि विषयमा ‘सिन्डिकेट’ लाग्न नदिने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्