सन्धिखर्कमा भूमाफियाका कारण स्थानीयलाई सास्ती:

घरहरूलाई खाली गराउँन सरोकारवालाले चाँसो नदिए भविष्यमा अनिष्ट हुन गइ ठुलो क्षति भोग्नुपर्ने अनुमान

| २०७८ कार्तिक ९ गते १८: ११ मा प्रकाशित

मुक्तिनाथ भुसाल,सन्धिखर्क। अर्घाखाँचीको सदरमुकामस्थित बाँगीखोलाले यसपालि अशुभ सङ्केत दिएको छ ।

पछिल्लो समयको अविरल वर्षाका कारण बाँगीखोला उर्लंदा खोलाछेउछाउमा निर्मित घरका सटरमा भेल पस्नुका साथै दर्जनबढी ग्यास सिलिन्डर, केही मोटरबाइकका अलवा खोलाछेउ निर्मित पर्खाल तथा स-साना पुलहरू बगाएको छ ।

गत बुधबार राति मध्यरातमा उर्लिएको बाँगीखोलाले ०४५ सालअघिको प्रलयको झल्को दिनुका साथै स्थानीयहरूलाई भागाभाग बनाएको थियो । उर्लिएको बाँगीखोलाले फुदवाङ, रिठेखोला हुँदै बलेवाङवरपरका खेतमा लगाइएका धानबालीसमेत नष्ट पारेको छ । मानवबस्तीको विकाससँगै सन्धिखर्क र चुत्रावेशी बजारको बीचमा रहेको बाँगीखोला हाल साँघुरिँदै जानुको अलवा दुर्गन्धित अवस्थामा रहेको छ ।

जिल्लाको अर्घा तथा बाँगीदेखि उत्पत्ति भएको यो खोला रिडी, कालीगण्डकी, नारायणी हुँदै महासागरमा मिसिएको बुझिन्छ । धार्मिक महत्व बोकेको बाँगी खोलामा केही वर्षअघिसम्म स्नान गर्न आउनेहरूको लर्को लाग्ने गर्दथ्यो । उनीहरूका अनुसार यहाँ स्नान गरियो भने बाँचुन्जेल आनन्द आउने र मृत्युपश्चात स्र्वगमा बास पाइने जनविश्वास रहे पनि हालका दिनमा एकादेशको कथा भइसकेको छ । बजारमा निर्मित घरहरूबाट निस्कने फोहोरका ढल बाँगीखोलामा मिसाइएको र सडेगलेका फोहोर थुपारिएको कारण खोलामा स्नान त के वरपर उभिनसमेत मुस्किल बनेको छ ।

पूर्वाधार पूरा गरेर शहर बनाउने हो वा शहर बनाएर पूर्वाधार बनाउने भन्ने कुनै सिद्धान्त नभए पनि कुनै पनि स्थानलाई शहरको रूपमा विकास गरिँदैछ भने त्यो विकासमा केही आधारभूत पक्षमा ध्यान दिनैपर्ने हुन्छ । खेतीयोग्य जमिनको खण्डीकरण र जथाभावी प्लटिङका कारण वर्षात् हुनासाथ भयावह रूपमा उर्लने बाँगीखोलालाई खुम्चाएर खोल्सो बनाइनुको परिणाम यसपालि अनुभूत हुनेगरी दर्शिएको छ ।

प्राकृतिक प्रकोप खबर गरेर आउने तत्व नभएको र रोक्नसमेत सहज नहुने कारण बेलैमा सावधानी अपनाउनुपर्ने हुन्छ । यसपालि जस्तै अगामी दिनमा भीषण वर्षा भइ जिल्लाको माटेमा बाँगीखोला थुनियो भने सानो खोल्सो तथा ह्युमपाइपमा सीमित गराउन खोजिएको बाँगीखोलाले कुन रूप लेला र भद्रीखोलो तथा घोँचेखोलोको भेल बाँगीखोलामा मिलेपछि उत्पन्न हुन सक्ने खतरालाई बेलैमा महसूस गरी सचेत हुनु आवश्यक देखिन्छ ।

बाँगीखोलाको अतिक्रमण तथा यसलाई दुर्गन्धित बनाउने काम २०४५ सालदेखि शुरु गरिएको हो । जिल्लामा रहेका भूमाफियाहरूले बाँगीखोलानजिक रहेको केही पूर्जावाला जमिनलाई आधार बनाएर त्यहाँ रहेका सार्वजनिक जमिन कब्जा गरी बस्ती बसालिएको कारण बाँगीखोला साँघुरिन पुगेको स्थानीयहरूको बुझाइ रहेको छ । माओवादी द्वन्द्वका समयमा जमिनका श्रेस्ता जलेर नष्ट भएको समयलाई मौका छोपी भूमाफियाहरूले सरकारी सार्वजनिक जमिनलाई समेत मिलाएर आफूखुशी रकम लिँदै मालपोतबाट जमिन बिक्री गरेका थिए ।

कालान्तरमा जिल्लाको नापजाँचमा विशेष नापी कार्यालय अगाडि बढेपछि केहीका जमिनहरू भोगचलनअनुसार दर्ता हुन नसकेको वा पूर्जामा भएको क्षेत्रफलमा कमी आएको समेत बुझिन आएको छ । जिल्लाका सरकारी तथा सार्वजनिक जमिनको अभिलेखिकरणका कार्यहरू भइरहेका भएपनि ती सबै फाइलमा सीमित बनेका छन् । सरकारी तथा सार्वजनिक जमिनको फिल्डमा पुगेर पहिचान गरी संरक्षण गर्ने जिम्मा स्थानीय सरकार र जिल्ला प्रशासनलगायतका कार्यालयहरूको भएता पनि प्रभावकारी ढंगबाट कदम चाल्न नसक्दा भूमाफियाहरूको मनोबलमा वृद्धि भएको छ ।

सर्वसाधरण कुनै पनि हालतमा ठगिनु हुँदैन र उनीहरूले उपभोग गरेको जमिन सार्वजनिक भएकै कारण दर्ता हुन सक्दैन भने पनि सम्बन्धित भूमाफियालाई कानुनी कठघरामा उभ्याउने जिम्मा राज्यपक्षको हो । सरकारी तथा सार्वजनिक जमिन हडपेर सर्वसाधारणलाई ढाड सेकेका भूमाफियाहरू पैसाकै आडमा सामाजिक, राजनैतिक तथा धार्मिक व्यक्तित्वका रूपमा नाम कमाएका छन् भने पनि उनीहरूको कुकर्मलाई कारबाहीको दायरामा ल्याउन आँट भएका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरू यतिबेला जिल्लालाई आवश्यक परेको छ ।

शहर सबैको रहर पनि हो तर रहरअनुसारको शहर बनाउन सकिएन भने त्यही रहर मृत्युको कारण बन्न पुग्छ भन्ने उदाहरण बेलाबखत मुलुकमा देखिएका छन् । सरकारी सार्वजनिक जमिन हडप्दै आफूसँग भएको एक इञ्च जमिन खाली नराखी घर बनाउने प्रतिस्पर्धामा लाग्दै गर्दा महाभूकम्पको समय काठमाडौंको मैतीदेवीमा बस्ने मानिसहरू खुला ठाउँ खोज्दै एयरपोर्ट पुग्नु परेको र शंखमुलका मानिस टुँडिखेल पुगेको स्मरण गर्नु आवश्यक देखिन्छ ।

जति नै शहर विकास भए पनि खानुपर्ने अन्न र पानी नै हो, त्यसको उत्पादन र संरक्षण तर्फ ध्यान नदिई सहरी विकासमा मात्र ध्यान केन्द्रित गर्दा गाउँबाट सहर आएको मानिसलाई सार्वजनिक शौचालयको अलवा होटलमा नमागी पानीसमेत खान नपाउनेलगायतका समस्या यथावत रहेका छन् । कुरा ढिलोचाँडोको मात्रै हो, कुनै न कुनै दिन बाँगीखोलाले आफनो रूप लिनासाथ ठुलो क्षति जिल्लाले भोग्नुपर्ने छ । भविष्यमा हुन सक्ने क्षतिलाई रोक्ने हो भने ढिला नगरी सावधानीका उपायहरू अपनाउन ढिलाई गर्नु हुँदैन । चुत्रावेशी बजारमा रहेको सरकारी र सार्वजनिक जमिनको पहिचान गरी त्यहाँ निर्मित घरहरूलाई खाली गराउन अब पनि सरोकारवालाहरूले हात कमाउने हो भने भविष्यमा अनिष्ट हुन गइ ठुलो क्षति भोग्नुपर्ने अनुमान गर्न सकिन्छ ।

यसैप्रकार बाँगीखोला उत्पत्ति भएको स्थानदेखि बलेवाङसम्मको क्षेत्रमा हुनेखानेहरूले आफुखुशी पर्खाल र जालीहरू लगाइँदा कमजोर आर्थिक अवस्थामा रहेकाहरूले नोक्सानी ब्यहोर्नु परेको छ । यस्तो अवस्थामा लगाइएका पर्खाल र जालीहरूलाई नापीको नक्सालाई आधार बनाएर चेकजाँच गरी व्यक्तिले आफनो जमिनको साँधमा मात्रै जाली पर्खाल लगाउनुपर्ने अभियानलाई अगाडि बढाउन सक्ने हो भने बाँगीखोला फराक भएर अगाडि बढ्ने छ । बजार क्षेत्रमा लगाइएका जाली पर्खाललाई हटाएर आरसीसी वाल निर्माण जस्ता कार्यहरूलाई अगाडि बढाइयो भने सन्धिखर्क चुत्रावेशी बजारलाई एउटा सफा, सभ्य तथा सुरक्षित शहर बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्