सन्धिखर्क साना सहरी खानेपानीको अध्यक्षमा एमाले नेता राम बहादुर रायमाझी निर्वाचित

| २०७९ सावन ८ गते १५: ४७ मा प्रकाशित

हरिप्रसाद भुसाल। अर्घाखाँची। सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल संस्थाको अध्यक्षमा नेकपा एमालेका नेता राम बहादुर रायमाझी निर्वाचित भएका छन् । 

शनिवार राती भएको मतगणनामा स्वतन्त्रबाट उम्मेदवार बनेका राजेन्द्र कुमार कक्षपती श्रेष्ठलाई २४९ मतले पछाडी पार्दै रायमाझी अध्यक्षमा निर्वाचित भएका हुन् ।

शुक्रवारबाट शुरु भएको अधिवेशनमा उद्घाटन शत्र जारी रहदै जिल्लामा क्रियाशिल ५ राजनीतिक दलले पदाधिकारी तथा सदस्यहरु बाँडफाँड गरेपछि असन्तुष्ट भई स्वतन्त्र उठेका श्रेष्ठ सहितको प्यानललाई हराउदै दलिय प्यानलले जित हात पारेको हो ।

करीव १८ सय मतदाता रहेको खानेपानी समितिमा ६०० अर्थात एकतिहाई मतमात्र खसेको थियो । खसेको मतमध्ये अध्यक्षको लागि ५६५ मत सदर भएकोमा रायमाझीले ४०७ मत प्राप्त गरेका हुन् । उपविजेता बनेका श्रेष्ठले १५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै सहसचिव पदमा नेकपा एमालेकी बसन्ता सन्दिप पौडेलले ३८९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी नेतृ सुमित्रा मुखियाले १५२ मत प्राप्त गरेकी छन् । त्यस्तै खुल्ला सदस्य, महिला सदस्य तथा लेखा समिति संयोजकमा समेत दलीय उम्मेदवार निर्वाचित भएका छन् ।

यसअघि मतदान शुरु हुनुअघि कोरम नपुगेपछि माइन्युट घरघरमै पुराएर हस्ताक्षर गराइएको थियो । पत्रकारहरुले माइन्युट हेर्न खोज्दा समेत नेकपा एमालेका नेता समेत रहेका निर्वाचन मण्डलका संयोजक केवी भुसालले माइन्युट दिन नसक्ने भन्दै हप्काएका थिए । पत्रकारलाई हप्कीदप्की गर्ने भुसाल केही समयअघि नेकपा माओवादी केन्द्र परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् । 

यो संस्थामा हरेक पटक जिल्लामा क्रियाशिल राजनीतिक दलले बाँडफाँड गर्दै आएकोमा यो पटक भने इतिहाँसमै पहिलोपटक केही पदहरुमा निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्