स्पेनलाई हराउँदै ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्ण पदक

| २०७८ सावन २३ गते २०: ०६ मा प्रकाशित

काठमाडौं। ओलम्पिक खेलकुद–२०२० अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । स्वर्णका लागि आज भएको फाइनल खेलमा विश्व फुटबलको एक पावर हाउस ब्राजिलको यु–२३ टोलीले युरोपको एक महारथि स्पेनको यु–२३ टिमलाई २–१ ले हराउँदै ब्याक टु ब्याक ओलम्पिकमा गोल्ड मेडल जित्न सफल भएको हो । यससँगै २१ वर्षपछि स्वर्ण पदक जित्ने स्पेनको युवा टोलीको सपना यसपटक पनि खरानी भएको छ ।

जापानको टोक्यो सहरमा जारी प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको फाइनल खेल योकोहामा रंगशालामा नोली समयअनुसार ५ः१५ बजेबाट सुरु भएको थियो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ बाजिलले स्पेनलाई स्तब्ध बनाएर स्वर्ण पदक चुम्न सफल भयो ।

चर्को प्रतिस्पर्धा भएको खेलमा पहिला अग्रता ब्राजिलले नै लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका लागि युवा खेलाडी माथेउस चुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । सो गोलमा कप्तान ड्यानी आल्भेसले असिस्ट प्रदान गरेका थिए । सो गोल गर्नुअघि ब्राजिलका लागि युवा खेलाडी रिचार्लिसनले ३९औं मिनेटमा पेनाल्टी मिस गरेका थिए ।

बक्सभित्र बल क्लियर गर्नेक्रममा स्पेनिस गोलकिपर युनाई सिमोनले ब्राजिलियन खेलाडीमाथि फउल गरेपछि रेफ्रीले भिएआरमार्फत् जाँच गर्दै ब्राजिललाई पेनाल्टीको अवसर दिएका थिए । तर, रिचार्लिसनको पेनाल्टी पोस्टभन्दा माथिबाट आकासिएपछि ब्राजिलले पहिलो खेलमा अग्रता लिने अवसर खेर फालेको थियो । तर, त्यसको केही मिनेटमै ब्राजिलले गोल गरेर पहिलो हाफमा १–० को अग्रता बनायो ।

दोसो हाफमा खेल झन् आक्रामक बन्यो । बराबरी गोलको खोजीमा रहेको स्पेन खेलको ६१औं मिनेटमा खेलमा फर्कियो । मिकेल ओयारजबालले बक्स भित्रबाट लो भली सटमा शानदार गोल गरेर खेल १–१ बनाए । कार्लोस सोलारले दिएको हाई क्रस पासमा ओयारजबालले उत्कृष्ट फिनिसिङ दिँदै बललाई जाली चुमाएपछि खेल १–१ भयो । त्यसपछि दुवै टोली विजयी गोेलको खोजीमा थिए ।

खेलको अन्तिम समय ८९औं मिनेटमा स्पेनले विजयी गोल गर्ने अवसर पाएको थियो । स्पेनिस खेलाडीको लामो दूरीको शक्तिशाली सट बारमा लागेर फर्किएपछि स्पेन निराश बनेको थियो । अन्ततः ९० मिनेट र ४ मिनेटको इन्जुरी समयमा समेत गोल नभई १–१ भएपछि खेल थप समयमा धकेलियो । जहाँ ब्राजिलले ३० मिनेटको दोस्रो हाफमा बाजी मार्न सफल भयो ।

ब्राजिलका लागि सब्सिच्युट खेलाडी माल्कोमले खेलको १०८औं मिनेटमा गोल ठोकेर ब्राजिललाई २–१ को अग्रता दिलाए । उनको गोलमा क्लाउडिन्होले असिस्ट गरेका थिए । स्पेनिस कप्तान जेसस भालेजोले बल क्लियर गर्न नसक्दा माल्कोमले उनको खुट्टाबाट बल चिप्लाएर केही अगाडि बढाएपछि सट हानेका थिए, जहाँ बलले स्पेनिस गालकिपर सिमोनको खुट्टामा लाग्दै जाली चुम्यो ।

ब्राजिलका लागि विजयी गोलकर्ता माल्कोम खेलको ९१औं मिनेटमा पहिलो गोल गरेका चुन्हाको स्थानमा मैदान छिरेका थिए । अन्ततः अतिरिक्त समयमा उनले टिमका लागि स्वर्ण पदक जिताउन विजयी गोल हाने । १०८औं मिनेटमा गोल खाएपछि स्पेन खेलमा फर्किन सकेन । र, ब्राजिलले २–१ को नतिजाका साथ ओलम्पिक फुटबलको स्वर्ण पदक जित्न सफल भयो ।स्रोत- हेलो नेपाल न्युज 

प्रतिक्रिया दिनुहोस्