अस्ट्रेलियाको लगातार दोस्रो हार

| २०८० असोज २५ गते २२: १९ मा प्रकाशित

लखनउ । भारतमा जारी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार भएको खेलमा अस्ट्रेलिया दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४०।५ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो । टोलीका लागि मार्नस लाबुसेनले सर्वाधिक ४६ रन बनाए भने मिचेल स्टार्कले २७ र प्याटकमिन्सले २२ रन बनाए । 

अस्ट्रेलियालाई सस्तोमा समेट्न कागिसो रबाडाले ३ तथा मार्को जेनसन, केशव महारज र ताब्रियाज शाम्सीले २–२ विकेट लिए । यसअघि क्वीन्टन डी ककले विश्वकपमा लगातार दोस्रो शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको थियो ।

डी ककले १०६ बलमा १ सय ९ रनको पाली खेले  । उनले ८ चौका र ५ छक्का हिर्काए । उनले कप्तान टेम्बा बाभुमासँग मिलेर पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । बाभुमाले ३५ रन बनाए ।

एइडन मारक्रमले ४४ बलमा ५६ रन बनाए भने हेररिच क्लासेनले २९ तथा रासी भा डर डुसेन र मार्को जानसेनले २६–२६ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए । त्यस्तै, जोस हेजलवुड, प्याट कमिन्स र एडम जाम्पाले १–१ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्