कोहलीको कीर्तिमानी शतकमा दक्षिण अफ्रिकालाई विशाल लक्ष्य

| २०८० कार्तिक १९ गते १८: २७ मा प्रकाशित

एजेन्सी। शीर्षक्रमका ब्याटर विराट कोहलीको कीर्तिमानी शतकमा भारतले आइसिसी टि२० विश्वकप २०२३ मा दक्षिण अफ्रिकालाई ३ सय २७ रनको विशाल लक्ष्य दिएको छ । वानखडे स्टेडियम कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २६ रन बनायो ।

भारतका विराट कोहली १ सय २१ बलमा १० चौकासहित १ सय १ रनमा नट आउट रहे । कोहलीको ओडिआई करिअरको ४९ औं शतक हो । योसँगै कोहलीले ओडिआईमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गरेका छन् । आफ्नो ३५ औं जन्मदिनमा कोहलीले शतक हानेका हुन् ।

ओडिआईमा सर्वाधिक शतक सचिन तेन्दुलकरले प्रहार गरेका छन् । सचिनले ४ सय ६३ खेलमा ४९ शतकसहित १८ हजार ४ सय २६ रन बनाए ।

सचिन र कोहलीपछि ओडिआईमा भारतका रोहित शर्माले ३१, अष्ट्रेलियाका रिंकी पोन्टिङले ३०, श्रीलंकाका सनाथ जयसूर्याले २८ र दक्षिण अफ्रिकाका हासिम अमलाले २७ शतक प्रहार गरेका छन । एवि डिभिलियर्स, क्रिस गेल र कुमार संगाकाराले समान २५ शतक प्रहार गरेका छन् ।

भारतलाई ओपनर रोहित शर्माले २४ बलमा ६ चौका र २ छक्कासहित ४० रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए । उनी कागिसो रबाडाको बलमा टेम्बा बभुमाबाट क्याच आउट भए ।

शुभमन गिल २४ बलमा ४ चौका र १ छक्कासहित २३ रन बनाउँदै केशव महाराजको बलमा बोल्ड आउट भए । श्रेयस ऐर ८७ बलमा ७ चौका र २ छक्कासहित ७७, सूर्यकुमार यादव २२ र लोकेश राहुल ८ रनमा आउट भए ।

रविन्द्र जडेजाले १५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, तबरेश शाम्सी, लुंगी एनगिडी, मार्को यानसन र केशव महाराजले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्