समयमै ब्याटिङका लागि तयार नहुँदा श्रीलंकाका एन्जेलो म्याथ्युज ‘टाइम आउट’

| २०८० कार्तिक २० गते १७: ५७ मा प्रकाशित

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यान एन्जेलो म्याथ्युज ‘टाइम आउट’ को रूपमा आउट छन्।

बंगलादेशविरूद्ध दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको श्रीलंकाका सदीरा सामाराविक्रमा २४.२ ओभरमा ४१ रनमा आउट भएका थिए। त्यसपछि मैदान प्रवेश गरेका म्याथ्युजले ब्याटिङका लागि तयार हुँन ढिलाइ गरेका थिए। जसका कारण उनलाई अम्पायरले टाइम आउटको रुपमा आउट गरे। 

यो अन्तर्राष्ट्रिय क्रिकेट (पुरुष/महिला) मा पहिलोपटक 'टाइम आउट' आउट हो। यसअघि कुनै पनि फर्म्याटमा ६ पटक मात्र टाइम आउट भएको थियो। ती सबै प्रथम श्रेणी क्रिकेटमा भएका थिए।

सुरुमा म्याथ्युजले आफ्नो हेलमेटको लोताले काम नगरेको बताएका थिए। त्यसैले उनले थप समय मागेका थिए। त्यसपछि उनको स्थानमा अर्का ब्याट्सम्यान समयमै मैदान जान सकेनन्।  

२०२३ को विश्वकपको नियममा विकेट गएको दुई मिनेटभित्रै नयाँ ब्याटरले आफ्नो पहिलो बलको सामना गर्न तयार हुनुपर्छ। 

म्याथ्युज दुई मिनेटभित्र मैदानमा पुगेका थिए। तर जब उनी स्ट्राइक लिने तयारी गर्दै थिए, उनले आफ्नो हेलमेटको लोताले राम्रोसँग काम नगरेको चाल पाए। त्यसैले उनले नयाँको हेलमेट ल्याउन भन्दै गर्दा दुई मिनेटभन्दा बढी समय गइसकेको थियो।

त्यसपछि बंगलादेशले विकेटका लागि अपील गरेको थियो। जसका कारण म्याथ्युज कुनै पनि बलको सामना नगरी आउट हुन बाध्य भए।

म्याथ्युजले बंगलादेशका कप्तान शकिब अल हसनसँग कुरा समेत गरेका थिए। शकिबले उनको कुरा सुने पनि अपील फिर्ता गरेनन्। 

‘टाइम आउट’ आउट भएपछि म्याथ्युजले निराश हुँदै आफ्नो हेलमेट पछाडि फ्याँकेका थिए। 

कुनै पनि बलको सामना नगरी म्याथ्युज आउट भएपछि कमेन्ट्री बक्सबाट वकार युनिस भनेका छन्, ‘यो खेलका लागि राम्रो होइन, यो क्रिकेटको भावनाविरुद्ध हो।’

प्रतिक्रिया दिनुहोस्