फाइनलमा अस्ट्रेलिया र भारतको भिडन्त हुने

| २०८० कार्तिक ३० गते २२: ३५ मा प्रकाशित

कोलकाता । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँच पटकको विजेता अस्ट्रेलिया र आयोजक भारतबिचको भिडन्त पक्का भएको छ । भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । उनले आक्रामक इनिङ्स खेल्दै ४८ बलमा नौ चौका र २ छक्का हिर्काए । अर्का ओपनर डेभिड वर्नरले पनि मात्र १८ बलमा २९ रन बनाए । उनले एक चौका र ४ छक्का हिर्काए ।

वर्नर आउट भएलगत्तै मिचेल मार्स शून्य रनमा आउट भएपछि अस्ट्रेलिया दबाबमा परेको थियो ।  त्यसपछि पूर्वकप्तान स्टिभ स्मीथले ३० रन बनाउँदै टोलीलाई केही राहत दिलाएका थिए । तर मार्नस लाम्बुसेन १८ रन र ग्लेन म्याक्सेवल मात्र १ रन बनाएर आउट भएपछि टोली पुनः दबाबमा पर्‍यो । 

यद्यपि विकेटकिपर जोस इंग्लिसले २८ रन बनाउँदै अस्ट्रेलियालाई जीतको नजिक पुर्‍याएए । त्यसपछि कप्तान प्याट कमिन्सले मिचेल स्टार्कसँग मिलेर टोलीलाई जीतसम्म डोर्‍याए । स्टार्कले नटआउट रहँदै १६ रन बनाए भने कमिन्सले १४ रनको योगदान दिए ।

दक्षिण अफ्रिका पुनः एकपटक विश्कपको फाइनलमा पुग्नबाट चुकेको छ भने अस्ट्रेलिया आठौँपटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको छ ।

यसअघि तीव्र गतिका बलरद्वय मिचेल स्टार्क र जोस हेजलवुडको घातक बलिङको मद्दतले अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २ सय १२ रनमा सीमित गर्न सफल भएको थियो । इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर सो रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक १ सय १ रन बनाए । अस्ट्रेलियका कप्तान प्याट कमिन्सको बलमा आउट हुनअघि ११६ बलमा उनले ८ चौका र ५ छक्का हिर्काए । उनलाई हेनरिच क्लासनले ४८ बलमा ४७ रन बनाउँदै राम्रो साथ दिए । टोलीका अन्य ब्याट्सम्यानले भने खासै ठुलो योगदान दिन सकेनन्।

खेलमा दक्षिण अफ्रिकाले निकै खराब सुरुवात गरेको थियो । स्टार्क र हेजलवुडसामु शीर्ष क्रमका ब्याट्सम्यान निरीह बनेका थिए । दक्षिण अफ्रिकाले १२ औँ ओभरमा मात्र २४ रन बनाउन सकेको थियो भने यस क्रममा चार विकेट गुमाइसकेको थियो । 

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १० ओभरमा १ मेडन राख्दै मात्र ३४ रन खर्चेर ३ विकेट लिए । कप्तान कमिन्सले पनि ९.४ ओभरमा ५१ रन खर्चिएर ३ विकेट लिए । जोस हेजलवुडले किफायती बलिङ गर्दै ८ ओभरमा ३ मेडन राख्दै २ विकेट लिए । त्यस्तै, ट्राभिस हेडले पनि २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्