साउने सोमवार : हिन्दु धर्मावलम्वीहरुको महिमा

| २०८० सावन १ गते १८: ५८ मा प्रकाशित

ज्योतिषशास्त्र अनुसार साउन महिना देवताका पनि देवता महादेव भगवान शिवको महिना मानिन्छ ।   सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिन भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । अझ   साउन महिनाको सोमवार गरिने शिवको व्रत, पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन विवाहित महिलाले  श्रीमानको दीर्घ जीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै व्रत बस्ने प्रचलत छ । सुख, शान्ति एवं समृद्धिका लागि साउन महिनाको सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको पाईन्छ ।

साउन भगवान् शिवलाई मनपर्ने महिना तथा सोमबार शिवजीको प्रिय दिन हो । यो महिनामा व्रत, दान, पूजापाठ  आदि गर्दा अन्य दिन भन्दा धेरै गुना बढी फल प्राप्त हुने तथा सारा समस्या समाधान हुने जनविश्वास छ । यस दिन महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाएर भगवान् शिवको पूजा गरी ब्रत    बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्र लगाई शिवको मन्दिरमा गई पूजा अर्चनाका गर्ने गरेको पाईन्छ ।

पौराणिक मान्यता अनुसार साउन महिनाको महिमा हुनुको कारण सतीदेवीले आफ्नो बाबु दक्षप्रजापतिको घरमा  देह त्याग गर्नु पुर्व सतीले भगवान शिवलाई हरजन्ममा पतिका रुपमा पाउने संकल्प गरेकी र देवी सतीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भ बाट पार्वतीका रुपमा जन्म लिनु भएपछी देवी पार्वतीले बाल्य अवस्था देखि नै यसै साउन महिनामा निराहार रहेर कठोर तपस्या गरेर भगवान शंकरलाई खुसीपारी   विवाह गर्नु भइ पुनर्मिलन भएका कारणले भगवान शिवलाई यो महिना  प्रिय हुन गयो ।

जुन भक्तजनले साउन महिनामा शिवजीको पूजा आराधना तथा भगवान शिवजीलाई जल चढाउँछ उसको रोग,   शोक, दुःख, कष्ट, दरिद्रता सवै नष्ट हुने धार्मिक विश्वास रहेकाले भक्तजनहरु यस महिना खास गरेर सोमवारको   व्रत वसि शिवजीको पूजा आरधना, पाठ, जप गर्दछन ।

शिवपुराणमा उल्लेखित भए अनुसार  साउन महिनामा नै पौराणिक कालमा देव दानवले गरेको समुन्द्र मंथनबाट  कालकुट महाबिष उत्पन्न भई सारा संशार भष्म हुनलागेकाले देव दानव सवै त्रसित भएका थिए । सो देखेर तत्काल त्यस प्रलयकारी कालकुट बिषलाई भगवान शिव शंकरले ग्रहण गरि आफ्नो कण्ठमा समाहित गरि समस्त सृष्टिको रक्षा गरेका थिए । उक्त विष ग्रहणबाट भगवान शिव लाई डाहा भएकाले उक्त डाहा शान्त गर्न देवगणहरुले  शिवजीलाई जल अर्पण गरी उक्त डाहालाई सान्त पारेको मान्यता अनुसार साउन महिनामा शिवजीलाई जल चढाउँदा मनोवांछित फल प्राप्त हुने भएकाले जल अभिषेक गरि आराधना गर्नु उत्तम हुने पुराणमा उल्लेख गरिएको छ ।

 यसरी साउन महिनाको सोमवार व्रत उपासना , संकल्प गरि अवीर, केशरी, जौ, तिल, श्रीख्ण्ड, बेलपत्र, जनै,सुपारी, फलफूल, धतुरो, भाङ, नरिवल, आकको फूल, धतुरोको फूल, पहेंलो कपडा, रातो कपडा, शौभाग्य, पक्वान, नैबेद, भेटी, अर्घ, दूध तथो बत्ति लगायत पूजा सामग्रीका साथ भगवान शिव शम्भोलाई पूजा आराधना गरि अन्तिम सोमवार ब्राम्हण बाट गोदान, पूर्ण पात्र गराई जानी नजानी जे जस्तो अवस्थामा यथासक्य भक्तिका साथ गरिएको मेरो ब्रतले पूर्णता पाओस भन्दै भगवान शिव शम्भोलार्ई मन बचनले प्राथना गरि व्रत समाप्त गरिन्छ ।

 

                                                                                          ‍‍‌‍    इतिहाँसमा   स्नातकाेत्तर 

प्रतिक्रिया दिनुहोस्