कहाँ चर्को स्वरले बोलेको छोरी हौ तिमी

| २०८० चैत १७ गते १७: ५६ मा प्रकाशित

कहाँ चर्को स्वरले बोलेको छोरी हौ तिमी
अफिस होइन घर सम्हाल्ने गृहस्थी हौ तिमी
भाडा धुने, लुगा धुने देखी सासुससुराको पाउ मिच्नु
घर गर्ने अनि बच्चा जन्माउने मेसिन हो तिमी

यस्ता वचन हरेक दिन खेपेर होला
 लोग्नेको कुटाई, समाजको वचन सुनेर होला
चेतना र शिक्षाको अभावमा हेपाई खपेको भएर होला
मेरी आमा आज मलाई सम्झाउँदै भन्छिन् 
हुर्किदै गरेको फूलको कोपिला हौ तिमी
निडर अनि आत्मरक्षक नारी हौ तिमी
तिमी बोल्न पाउँछौ आफ्नो हकको लागि
परिआउँदा अधिकारको कुरा,
भगवानको पनि भगवान्, देवी हौ तिमी,
 
तिमी बोल्नु,घरको चार भित्ताले रोक्दैन तिमी आवाज
महिनावारीको पवित्र रगतले छेक्दैन तिम्रो रफ्तार
तिमी रोटी मात्र घुमाए, तिमिलाई घुमाउँछ समाज
केवल हिम्मतका नहार्नु सङ्कोच भए प्रश्न गर्नु
मृत्युले पनि दिनेछ तिमी जबाफ,
बस् आत्मनिर्भरको लागि जोगाइराख्नु तिम्रो लगाव
आफूमा भर पर चेली,
 अनि हुन नदिनु कहिले आफैलाई आफ्नो अभाव

केवल लुगामा आधुनिकता नखोज्नु है कैले 
संस्कृती र परम्परा पनि बचाइराख्नु तिम्ले 
सधै भीडको पछि मात्र पनि नलाग्नु चेली
साथ दिनु सत्यको,बुझ्नु आफै तिम्ले 

नडराऊ समाज के भन्छ भने
फनलाकी छोरी उत्ताउली भन्छ भनेर
यति सम्झनु , खनेको बाटो हिँडेर सुझाव दिनेले,
बाटो खनेको दुःख बुझ्दैनन भनेर
उठाउनु आवाज भष्ट्राचारको खुलेर अब
नसहनु कतै हेपियौ, पिल्सियौ भने
दुर्व्यवहारको खुलेर बहिष्कार गर्नु
नेतृत्व गर्न सक्छ्यौ खुलेर अघि बढ्नु अब
कतै कमजोर महसुस भए सम्झनु
एक आमा, श्रीमती,बुहारीको मात्र होइन
एक देविकै तागत छ तिमीमा भनेर

सल्लाह सबैको लिनु , सम्मान सबैको गर्नु
तर अन्तिम निर्णयको क्षमता आफैमा हुनुपर्छ तिम्रो
मेकअप भन्दा जिम्वेवारी श्रृंगारले,
भर्छ सुन्दरता मुहारमा तिम्रो
होलान् कमीकमजोरी तिमीमा पनि,
सिकेर आएकि हैनौ, सिक्दै छौँ तिमी पनि
बस समानताको लागि प्रत्येक पाइलामा 
आवाज उठाउनु है नारी तिमी 

✍️बिनिता खनाल
मालारानी गाउँपालिका

प्रतिक्रिया दिनुहोस्