रुपा सुनारलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी दिइन् सरस्वती प्रधानले

| २०७८ असार १६ गते १८: १७ मा प्रकाशित

काठमाडौं । आफूलाई षड्यन्त्रमूलक ढंगले फसाइएको भन्दै रुपा सुनारमाथि कारबाहीको माग गर्दै सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।

आफूले जातीय विभेद एवं छुवाछुतको व्यवहार नगरे भन्दै बुधबार आयोगमा निवेदन दिने क्रममा आफूलाई षड्यन्त्रमूलक ढंगले फसाइएको भन्दै कारबाही गर्न उजुरीमा माग गरकी हुन् ।

षड्यन्त्रमूलक ढंगले प्रहरी हिरासतमा थुनाउने रुपा सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने पनि उनले निवदेनमा माग गरेकी छन् । रुपा सुनारसँगै कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने उनको माग छ ।

यसअघि आफू दलित भएको थाहा पाएपछि प्रधानले कोठा नदिएको भन्दै सञ्चारकर्मीसमेत रहेकी सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा पक्राउ परेकी प्रधान ३ दिन थुनामा बसेकी थिइन् ।

घरबेटी प्रधानले निवेदनमा निषेधाज्ञाको समयमा पीसीआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकी छन् ।

उजुरीमा भनिएको छ, ‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पीसीआर रिपोर्ट खुलेआम आवत जावत गरी महामारी फैलाउने मानवविरोधी अपराध गरेको । रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुरबेगर मेरो फोन रेकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरित हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको ।’

यसैगरी प्रधानले सुनारले पत्रकार प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाएकी छन् । घरभाडा दिनेसन्दर्भमा घरधनी श्रीमान र सासु भएको र आफूलाई घर भाडामा लगाउने अधिकार नभएको निवेदनमा भनेकी छन् ।

साथै, आफूलाई घरधनी भनि झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको निवेदनमा उल्लेख गरिएको छ ।स्रोत - न्युज २४ 

प्रतिक्रिया दिनुहोस्