जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ : एमाले नेता टोपबहादुर रायमाझी

| २०७८ भदौ ३१ गते १४: ४६ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरुको गठबन्धनको संज्ञा दिएका छन् । उनले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय खेर फालेको टिप्पणी गरे ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले सत्ता गठबन्धन चुनावमा जानको लागि डराएको पनि बताए । उनले अब कुन पार्टी सही र कुन पार्टी गलत ? भनेर जनताले मूल्यांकन गर्ने बेला आइसकेको भन्दै संविधान र लोकतन्त्र रक्षाको लागि पनि चुनावमा जानुपर्ने बताए ।

उनले संसद् औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्ने आफूहरुको माग भएको पनि स्पष्ट पारे । त्यस्तै उनले आफ्नो पार्टीले उठाएका माज पूरा नभएसम्म संसद् अवरुद्ध कायमै रहने पनि स्पष्ट पारे ।

उनले भने, ‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ ।’ उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादा कायम गर्न नसकेको पनि टिप्पणी गरे ।

उनले भने, ‘उहाँलाई त एक सेकेण्ड पनि पदमा बस्ने अधिकार छैन । हामी त्यस्तो भएर बस्दैनौं ? सभामुख, सांसद, मन्त्री, प्रधानमन्त्री भएरमात्रै सबै चिज हुन्छ ? विचार र राजनीति नै ठूलो कुरा हो । सांसद र मन्त्री हुने र नहुने त भइरहन्छ नि । हाम्रो हकमा एक दिनपनि नपर्खिकन कारबाहीको सूचना टाँस्ने काम गर्नुभयो, तर एमालेले १४ जना सांसदलाई कारबाही गर्दा अन्टसन्ट गर्ने ?’

उनले एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछिमात्रै आफूहरुको धारणा आउने बताए । उनले भने, ‘एमसीसीबारे हामीले बोल्नुपर्छ जस्तो लाग्दैन् । सरकारले आफ्नो स्थिति क्लियर गरोस । हुन त अहिलेसम्म सरकार नै बनाउन सकेको छैन् । किन पास गर्ने अथवा नगर्ने हो भने किन नगर्ने ? यसबारे सरकारले स्पष्ट पार्नुपर्छ ।’

उनले फेरि भने, ‘एमसीसी संसद्मा विचाराधिन छँदैछ नि । एमसीसी संसद्मा गएकै हो । बहस चलेकै हो । देशको हितमा नभएका प्रावधान करेक्सन गरेर अघि बढाउनुपर्छ भन्ने मेरो धारणा हो । यो कुरा मले उर्जामन्त्री भएको बेलापनि भनेको थिएँ । एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्यो । सरकारले कसरी ल्याउँछ, पहिला प्रस्ताव त्यो हेर्नुपर्यो ।’

उनले एमाले र माओवादी केन्द्रबीच हतारमा एकता गरिएको भन्दै गुनासो पोखे । तर, सत्ता स्वार्थमा लागेकाहरुमात्रै नेकपाबाट बाहिरिएको भन्दै अहिलेपनि आफूहरु नेकपाकै निरन्तरताको अवस्थामा रहेको सुनाए ।

उनले भने, ‘सर्वोच्चले एमाले र माओवादी बनाइदियो । कानूनी रुपमा मात्रै दुई पार्टी अलग भएका हुन्, तर, राजनीतिक रुपमा होईन । एमालेले आफ्नो सांसदलाई कारबाही गर्दा दुई महिना भइसक्यो सभामुखबाट सूचना टाँसिएन । हामीलाई त एक दिन नबित्दै सूचना टाँसेर सांसद पद गयो । हाम्रो त ह्वीप उल्लंघनको कुनै रेकर्ड छैन् ।’

नेकपा हुँदा सहमतिमै पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाईएको र तीन वर्षसम्म सबै ठीकठाक चलेको पनि स्मरण गराए ।

उनले भने, ‘प्रचण्डले त केपी ओली पाँच वर्षको लागि प्रधानमन्त्री भनेर भन्नुभएको थियो । राजनीतिक स्थिरताको लागि उहाँले यो भन्नुभएको थियो । तर, पछि उहाँहरुले बखेडा, अराजनीतिक प्रकारको आरोप प्रत्यारोप लगाउँदै पार्टीमा अन्तरसंघर्ष भयो । बरु, विपक्षीलाई प्रधानमन्त्रीको लागि वकालत गर्र्दैै हिँड्नुभएकोले समस्या पैदा भएको हो ।’

संविधानको पालना नहुने अवस्था आएपछि संसद् विघटन गरेर नयाँ ताजा जनादेशमा जाने कुरा संविधानको रक्षा भएकोले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको पनि रायमाझीले स्मरण गराए । उनले भने, ‘ताजा जनादेशमा जाने कुरा त लोकतन्त्रको रक्षा हो ।’

हिजो केपी ओलीले संसदीय दल र केन्द्रीय कमिटीमध्ये एकमात्र ४० प्रतिशत हुने प्रावधानसहित अध्यादेश ल्याउँदा विरोध गर्नेहरुले आज २० प्रतिशतमा झारेर अध्यादेश ल्याएको भन्दै उनले आक्रोश पोखे ।

उनले भने, ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले केवल एमालेलाई फुटाउनको लागि जुन अध्यादेश ल्याइयो, त्यो गलत थियो । यो भन्दा विडम्बनापूर्ण र अराजकता अर्को के हुनसक्छ ? अनैतिकताको पराकाष्ठा हो । देशका पार्टीलाई टुक्रा–टुक्रा पार्ने र भाँडभैलो पार्ने काम भयो । एमाले फुटाउन त्यो हर्कत गरियो । अध्यादेश रह्यो भने कांग्रेस पनि टुक्रा–टुक्रा हुन्छ, माओवादी र जसपापनि टुक्रा–टुक्रा हुन्छ । सर्वसत्तावादी चिन्तन हो । जनताले अब बुझ्नुपर्ने बेला आएको छ । कसले सही र कसले गलत गरेको भनेर बुझ्नपर्छ ।’

उनले अहिलेपनि मुलुक प्रतिगमनतर्फ जाने देखिएको खतरा औंल्याए । उनले भने, ‘अहिलेको गठबन्धन लोभी पापीहरुको गठबन्धन हो । यो त जसरी पनि सत्तामा पुग्नेमात्रै गठबन्धन हो । जनादेशको खिलाफमा चरम अराजकवादी चिन्तनको आधारमा सरकार चलाउन खोजिएको छ । २ महिना बढि भैसक्यो, सरकारले पूर्णता पाएको छैन् । कारण त लोभी पापीहरुको सत्ता स्वार्थ हो, लुटपाटको चिन्तन राख्दा समस्या भएको हो ।’

उनले फेरि भने, ‘अब को सही ? को गलत भन्ने छुट्याउने बेला आएको छ । अहिले सुनिँदैछ, उनीहरुले चुनावमा महागठबन्धन गर्ने अरे, चुनावमा जान हिम्मत छैन ? लोभी पापीहरुको के हो विचार ? कम्युनिष्ट भन्ने अनि कांग्रेसको पुच्छर बनेर हिँड्ने ? अहिले अराजनीतिक तरिका देखियो ।’

वर्तमान सरकारले अर्को बजेट ल्याएकोमा पनि उनले दुःखेसो पोखे । उनले भने, ‘यसअघि केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटले जलन भएर अहिले प्रतिस्थापन विद्येयक ल्याईएको छ, विकासका एजेण्डा काट्न मिल्छ ? साथीहरु नाँग्गिदै गएका छन् । कार्यकर्ता थेग्ने, पोषण गर्ने, यस्तो प्रकारको कार्यकर्तामुखी बजेट ल्याउनुहुन्छ ? देश र जनताको हितमा बजेट ल्याउनुपर्छ । यसले देशको हित गर्दैन ।’

उनले मुलुकमा अब राजनीतिक क्रान्तिका एजेण्डा तत्काल नभएको भन्दै अब विकास र समृद्धिको एजेण्डालाई बोकेर हिँड्नुपर्ने बताए ।स्रोत - न्युज २४ 

प्रतिक्रिया दिनुहोस्