टोपी देख्नेबित्तिकै बाइडेनले मलाई चिनिहाले : प्रधानमन्त्री देउवा

| २०७८ कार्तिक १८ गते १४: ४९ मा प्रकाशित

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई देख्नेबित्तिकै चिनिहालेको बताए । स्कटल्यान्डको ग्लोस्गोमा कोप–२६ मा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवाले भने,‘बाइडेनसँग पनि मेरो भेट भयो । पहिले नै नेपाल आएका रहेछन्, मैले टोपी लगाएर गएको थिएँ, देख्नेबित्तिकै चिनिहाले।’ 

देउवाले आफूसँग अमेरिकी राष्ट्रपति बाइडेनले ‘नेपाल राम्रो देश छ, मलाई खुब मन पर्छ’ समेत भनेको उल्लेख गरे ।

देउवा र बाइडेनबीच सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको रात्रिभोजका दौरान जम्काभेट भएको थियो । उक्त भेटमा दुवै नेताहरुले एकअर्कालाई हार्दिकतापूर्वक स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवा कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधवबहादुर कार्की सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्