अर्घाखाँचीलाई समेत समेट्ने गरि कपिलवस्तुमा यातायात सेवा कार्यालय खोल्ने तयारी

| २०७८ पौष ६ गते १७: १८ मा प्रकाशित

बुटवल। दुई जिल्लालाई समेटेर कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको तयारी गरिएको छ । लुम्बिनी प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालले अर्घाखाँची र कपिलवस्तुका नागरिकलाई मध्यनजर गरी सेवा कार्यालय स्थापना गर्न थालेको हो ।

यसको पुष्टि श्रम रोजगार तथा यातायात व्यवास्था मन्त्रालयका सचिव दिपकराज नेपालले पनि गर्नुभएको छ ।

स्थान निर्धारण गरी कपिलवस्तुमा कहाँ कार्यालय स्थापना गर्दा ठिक हुन्छ भन्ने विषयमा मन्त्रीपरिषद् बैठकमा छलफल भई स्विकृत भएपछि छिट्टै कार्यालय स्थापना गरी काम थालिने नेपालले बताउनुभयो । अहिले मन्त्रालयले कपिलवस्तु र अर्घाखाँची जिल्लालाई लक्षित गरी कार्यालय स्थापनाको तयारी तिव्र रुपमा गरिरहेको सचिव नेपालले बताउनुभएको छ ।

कपिलवस्तुसँगै प्रदेश सरकारले नवलपरासीमा पनि यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने छ ।

कपिलवस्तुमा सो कार्यालय स्थापना भए सँगै यातायातको कर तिर्न, नविकरण गर्न, सवारी चालक अनुमती पत्र नविकरण र नयाँ चालक अनुमति पत्र लिनका लागि रुपन्देही धाउन पर्दैन ।

कार्यालय कपिलवस्तुको सदरमुकाम क्षेत्र तौलिहवामा स्थापना गर्ने वा बुद्धभूमि नगरपालिकाको गोरुसिँगेमा स्थापना गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताएको छ । मुख्य सेवा कार्यालय सदरमुकाममा स्थापना भए सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर भने खुला स्थानको राजमार्ग क्षेत्रमै स्थापना हुन सक्ने मन्त्रालयका सचिव नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्