माओवादी महाधिवेशन : ११ जोडी पति-पत्नी नै केन्द्रीय सदस्य

| २०७८ पौष १९ गते १५: २१ मा प्रकाशित

काठमाण्डौ। नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट ११ जोडी पति-पत्नी नै पार्टीको केन्द्रीय सदस्य बनेका छन्। ​

नेता लीलामणि पोखरेल र उनकी पत्नी भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै केन्द्रीय सदस्य बनेका छन्। पोखरेल खुला तर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन्।

खुला तर्फबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यका पतिपत्नी नै केन्द्रीय कमिटीमा छन्। शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्य बनेकी हुन्।

त्यसैगरी गणेशमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय कमिटीमा समेटिएका छन्। खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन्।

पूर्वमन्त्री वर्षमान पुनका पनि श्रीमान् श्रीमती नै केन्द्रीय कमिटीमा परेका छन्। वर्षमान खुल्लातर्फबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती पूर्व सभामुख समेत रहेकी ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन्।

कुलप्रसाद केसी र उनकी पत्नी ताराकुमारी घर्ती पनि केन्द्रीय सदस्य बनेका छन्। केसी खुल्लाबाट केन्द्रीय सदस्य बने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्य भइन्।

त्यस्तै कृष्णध्वज खड्का र उनकी पत्नी रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बने। खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय सदस्य भएका हुन्।

पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी पनि पार्टीको केन्द्रीय सदस्य भएका छन्। बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उनको श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय सदस्य भइन्।

त्यस्तै देवेन्द्र पौडेल र उनकी पत्नी बलावती शर्मा पनि  केन्द्रीय सदस्य भए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्य भइन्।

देव गुरुङका पनि श्रीमान् श्रीमती नै केन्द्रीय सदस्य बनेका छन्। उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाटै केन्द्रीय सदस्य बनिन्।

त्यसैगरी दिलीप प्रजापति र उनकी पत्नी प्रतिमा श्रेष्ठ पनि केन्द्रीय सदस्य भए।

साथै अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष देवेन्द्र पराजुली र उनकी पत्नी कल्पना धमला पनि केन्द्रीय सदस्य बनेका छन्। पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय सदस्य भएका हुन्।

त्यसैगरी नेता विश्वनाथ साह र उनकी पत्नी सीता पोखरेल पनि केन्द्रीय सदस्य बनेका छन्। साह खुलाबाट र पोखरेल खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य बनेका हुन्।

माओवादीको आइतबार सकिएको महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो। बाँकी ६६ जना केन्द्रीय सदस्य अध्यक्ष प्रचण्डले मनोनित गर्ने माओवादी स्रोतले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्