संखुवासभा बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै सनाखत: एउटै नगरपालिकाका ११ जना

| २०७८ फागुन २६ गते १४: २३ मा प्रकाशित

काठमाडौं । संखुवासभाको मादी नगरपालिका ६ सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १४ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार ५ जनाको उपचार भइरहेको छ। मृत्यु हुनेमा मादी नगरपालिकाका मात्र ११ जना रहेका छन्।
ज्यान गुमाउनेमा मादी नगरपालिका -६ की ३० वर्षीया सिता विक, ३२ वर्षीया अञ्जना कटवाल र ५ वर्षीया दिक्षा कटवाल रहेका छन्।

यस्तै वडा -५ बस्ने ४९ वर्षीय भवानीप्रसाद दाहाल, ५५ वर्षीय श्याम शेर्पा र उमेश भट्टराई रहेका छन्। वडा-४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सविता कार्की र आइतबहादुर तामाङ रहेका छन्।

वडा -२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारीको पनि मृत्यु भएको छ। ताप्लेजुङ घर भएकी ३१ वर्षीया समिक्षा योन्जन र उनका ८ वर्षीय छोरा सुदिप घिसिङ तथा तेह्रथुमको फाक्चामारा घर भएका ३१ वर्षीय विपिन निरौलाको पनि ज्यान गएको डीएसपी सुवेदीले जानकारी दिए। विपिन बसका चालक र उमेश सहचालक हुन्।source- nepalkhabar 

 

प्रतिक्रिया दिनुहोस्