गगनको घरमा पुगे विश्वप्रकाश, भने : प्रधानमन्त्री बनाउन प्रस्तावक म आफैँ उभिन्छु

| २०७९ मंसिर १३ गते १९: ५२ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवम् झापा-१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् ।

झापा- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शभकामना व्यक्त गरे । उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए ।

न्‍युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले महामन्त्री थापा पटक-पटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडी बढ्नुपर्ने बताए।

उनले भने, ‘म महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौं ४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । सांसद पहिल्यै भइसक्नु भएको हो पटक पटक । मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो । अब देशको आवाज के हो ? देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई सुरु गर्नलाई पनि म आएको हो ।’

महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने बताए । उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए ।

शीर्ष नेताहरुलाई थापाको प्रस्तावक बनाउन नसकेमा आफैँ प्रस्तावक बनेर भए पनि अगाडी बढाउने उनको भनाइ छ ।

उनले भने, ‘मेरो प्रयत्न के रहन्छ भने प्रस्तावकको रुपमा शेरबहादुर देउवाको नाम लेख्नसक्ने परिस्थिति बनाउनु चाहीँ मेरो जिम्मेवारी हुन्छ । रामचन्द्र पौडेलको नाम लेख्ने बनाउनु हाम्रो कर्तव्य हुन्छ । कतिपयले बहुमत पुग्छन् भनेर मलाई भन्नुहुन्छ । सर्वसहमतिमा पुर्‍याउन सकिएन, प्रस्तावक लेख्नुपर्दै गर्दा, उभिनुपर्दा म आफैँ प्रस्तावक बस्नेकुरा स्वभाविक छ । त्यो म गरेर उभिन्छु ।’

शर्मा झापाबाट काठमाडौं उत्रिनासाथ महामन्त्री थापा निवास रातोपुल पुगेर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । महामन्त्री थापाले पनि शर्मालाई बधाई तथा शुभकामना दिएका थिए ।रासस 

प्रतिक्रिया दिनुहोस्