माधव नेपालद्वारा राष्ट्रपति पद अस्विकार: पाँच वर्षभित्र एकपटक प्रधानमन्त्री हुने चाहना

| २०७९ मंसिर २३ गते १६: ३५ मा प्रकाशित

काठमाडौं, २३ मंसिर । सत्ता गठबन्धनको महत्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद अस्विकार गरेका छन् । सत्ता गठबन्धनका ठूला घटक नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबाट नेपाललाई राष्ट्रपतिको लागि प्रस्ताव आएको खुलेको छ ।

तर, नेपालले भने आफू अझै सक्रिय राजनीतिमा रहने भन्दै शेरबहादुर देउवा र प्रचण्डबाट आएको राष्ट्रपति बन्ने अफर अस्विकार गरेका छन् । देउवा र दाहालबाट प्रस्ताव आउनु सकारात्मक भएको भन्दै उनले दुवै नेतालाई धन्यवाद दिएका छन् । उनले आफूनिकट नेताहरुसँग भन्ने गरेका छन–‘उहाँहरुबाट मलाई राष्ट्रपति बन्ने अफर आएको छ, मैले उहाँहरुलाई त्यो प्रस्तावको लागि धन्यवाद भनेको छु । अहिले मेरो ध्यान पार्टी निर्माणमा नै छ ।’

उनले अझै केही वर्ष आफू सक्रिय राजनीतिमा नै लाग्ने बताउने गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा पनि उनले यही दोहोर्याएका छन् । उनले भने,‘अब म पार्टी बलियो बनाउँछु । वामपन्थीहरुबीच सहकार्य हुन्छ । अहिले एमालेबाहेक प्रचण्डजी र उपेन्द्र यादवजीसँग सहकार्य र एकतासम्मको पहल गर्छु ।’

नेपालले संसद्को आगामी वर्षको कार्यकालभित्रै आफू पनि प्रधानमन्त्री हुनेगरि गठबन्धनमा छलफल भएको र त्यसमै सहमति हुने संकेतपनि गर्ने गरेका छन् । अहिले गठबन्धनमा सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्ने विषय टुँगो लाग्न बाँकी छ । अन्य महत्वपूर्ण पदहरुमा पनि बाँडफाँड हुने बताईएको छ।रिपोर्टर्स नेपाल बाट साभार 

प्रतिक्रिया दिनुहोस्