राष्ट्रिय आविष्कार केन्द्रलाई यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार प्रदान

| २०८० सावन ९ गते २१: ३० मा प्रकाशित

काठमाडौं । यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

भीमसेन थापाको २४९औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको हो ।

एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे । उक्त अवसरमा उपप्रधानमन्त्री खड्काले यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएकोमा छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

उनले सहमतिबमोजिम सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक कानून छिट्टै सदनमा लगिने बताए ।

केन्द्रका संस्थापक पुनले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी काममा युवाहरुलाई परिचालन गर्दै मुलुकको विकास गर्न सकिने बताए ।

उनले सरकारले यसअघि आफूसँग गरेको सहमतिका केही बुँदाहरु कार्यान्वयन नभएको भन्दै मन्त्री खड्काको ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्