४०० वटा प्रतिबन्धित भारतीय कुखुरा बरामद

| २०८० सावन ९ गते २२: ३२ मा प्रकाशित

सशस्त्र प्रहरीले सुनसरीको इनरूवाबाट प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको छ।

मंगलबार बिहान साढे ४ बजे सशस्त्र प्रहरीको इनरूवास्थित ४ नम्बर गणका प्रमुख डिएसपी प्रेम सिग्देल नेतृत्वको टोलीले एउटा जिपसहित जिउँदा कुखुरा बरामद गरेको हो।

मधेस प्रदेशको सिराहाबाट झापाको दमकतर्फ ल्याउँदै गरेको ब्रोइलर कुखुरा पूर्वपश्चिम राजमार्गको इनरूवा सडक खण्डबाट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेलले जानकारी दिए।

उनका अनुसार स १ च १६८४ नम्बरको जिप र त्यसमा रहेका ४०० वटा भारतीय जिउँदो ब्रोइलर कुखुरा बरामद भएको हो।

प्रतिबन्धित भारतीय कुखुरा र माछा आयातमा कोशी प्रदेशमा प्रहरीले कडाइ गरेपछि तस्करले मधेस प्रदेशका नाकाबाट नेपाल भित्र्याउने गरेका छन्। यसरी भित्र्याइएका कुखुरा अवैध ढंगबाट कोशी प्रदेशमा ल्याउने गरिएको छ।

जिल्ला कुखुरा व्यवसायी संघ सुनसरीका अध्यक्ष डाक्टर राजकुमार यादवले तस्करले नेपालका बिचौलियासँगको मिलेमतोमा सुनसरीको कोशी ब्यारेज र चतराको कोशी पुलबाट प्रहरीको आँखा छलेर कोशी प्रदेशका विभिन्न सहरमा कुखुरा पुर्‍याउने गरेको बताए।

'दैनिक १० देखि १५ वटा सम्मका गाडीले प्रतिबन्धित कुखुरा कोशीका दुइटा पुल प्रयोग गरेर सुनसरी, मोरङ र झापाको दमकसम्म लैजाने गरेका छन्,' अध्यक्ष यादवले भने।

सशस्त्र प्रहरीका डिएसपी सिग्देलका अनुसार सिराहाका पशु चिकित्सक जगतनारायण यादवले बरामद गरिएका कुखुराको निरोगिताको प्रमाण पत्र जारी गरेका छन्। डा. यादवले नेपाल भेटेरिनरी काउन्सिलबाट २८४ नम्बरको सदस्यता लिएको भेटेरिनरी पेपरमा उल्लेख भएको पनि उनले जानकारी दिएका छन्।

'चिकित्सकले खोरमा गएर कुखुराको स्वास्थ्य र जात छुट्ट्याएर प्रमाणित गर्नुपर्छ। तर भारतीय कुखुरालाई नेपालमा वैधता दिन डा. यादवले फिल्डमै नपुगी प्रमाण पत्र जारी गरेका छन्,' डिएसपी सिग्देलले भने, 'उनले जारी गरेको प्रमाण पत्रमा 'कव ५००' उल्लेख छ। तर इनरूवा नगरपालिकाका पशु चिकित्सक डा राजकुमार यादवले ती कुखुरा भारतीय जात 'कव ४००' भएको पुष्टि गरे। बरामद भएका कुखुरा नेपालमा नपाइने जात हो।'

डा. जगतनारायण यावदले पनि आफू फिल्डमा नपुगेको र कुखुराको भेटेरिनरी प्रमाण पत्र भुलवश जारी भएको स्वीकार गरेका छन्।

'मैले कुखुराको स्थलगत जाँच गरेको होइन। सिराहाको जय कृष्ण ट्रेडर्सले मेरा नाममा काउन्सिलबाट जारी भएको भेटेरिनरी प्रमाण पत्रको दुरूपयोग गरेका रहेछन्। प्रतिबन्धित भारतीय कुखुरा दमकका कुखुरा व्यवसायी कुलबहादुर तामाङलाई पठाएको थाहा पाएँ,' उनले भने, 'भेटरिनरी प्रमाण पत्रमा मैले अगाडि नै हस्ताक्षर गरेको थिएँ। त्यही हस्ताक्षर दुरूपयोग गरेर जय कृष्ण ट्रडर्सले दमकका व्यवसायीलाई बिक्री गरेका रहेछन्।'

पशु क्वारेन्टाइन सुनसरीका प्रमुख डा. सरिलाल चौधरीले कुखुराको जाँच नगरी भेटेरिनरी प्रमाण पत्र दिने डा. जगतनारायण यादवलाई कारबाहीका लागि भेटेरिनरी काउन्सिलमा सिफारिस गर्ने बताए। 

बरामद गरिएका कुखुरा पशु क्वारेन्टाइन र जिप भने भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

ती कुखुरा क्वारेन्टाइनले नष्ट गर्ने जानकारी दिएको छ।

Seto Pati

प्रतिक्रिया दिनुहोस्