संसद बैठक ५ भदौसम्म स्थगित

| २०८० भदौ ४ गते १५: २५ मा प्रकाशित

३ भदौ, काठमाडौं । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

दुबै बैठकमा नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । सरकार पनि उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडानमा छ ।

दुबै पक्ष आआफ्नो अडानबाट पछि नहटेपछि संसदको अवरोध नहटेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब ६० किलोग्राम सुन (गालेपछिको तौल) २ साउनमा सिनामंगलबाट बरामद भएको थियो । नेकपा एमालेले उक्त सुन भन्सार पास भएर आउनुमा गृहमन्त्री र अर्थमन्त्री पनि दोषी रहेको दाबी गर्दै उनीहरुमाथि पनि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि संसद बैठक अवरोध गर्दै आएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्