ओमानमा बन्धक बनाएर जबर्जस्ती वेश्यावृत्तिमा, नेपाल फर्कन तस्करलाई साढे २ लाख

| २०८० चैत ५ गते २०: ५८ मा प्रकाशित

१२ चैत, काठमाडौं । भिजिट भिसामा महिलालाई ओमान पुर्‍याएर वेश्यावृत्तिमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पाल्पाको तिनाउ गाउँपालिका–५ घर भएका ४० वर्षीय आकाश भनिने विष्णुबहादुर रानालाई पक्राउ गरेको छ ।

रानाले ओमानमा आकर्षक तलव हुने भन्दै एक महिलालाई ओमान पुर्‍याएर जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोप लागेको छ । पीडित महिलालाई रानाले गत २६ भदौमा ओमान पुर्‍याएको आरोप छ ।

ओमानमा बन्धक बनाएर वेश्यावृत्तिमा लगाएपछि पीडित महिला नेपाल फर्कन खोज्दा मानव तस्करले उल्टै रकम माग गरेका थिए ।

त्यसपछि पीडितका श्रीमानले नेपालबाट मानव तस्करका एजेन्टलाई २ लाख ५० हजार रुपैयाँ दिएपछि मात्रै ती महिला नेपाल फर्किन सफल भएको ब्यूरोका प्रवक्ता गौतम मिश्रले बताए ।

पीडित महिला गत २ कात्तिकमा नेपाल फर्केकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्