इलाम २ उपनिर्वाचन: ५ हजार ५० मत पाएका रास्वपाका लिम्बुको जमानत जफत

| २०८१ बैशाख १८ गते १८: १८ मा प्रकाशित

इलाम।२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको जमानत जफत भएको छ ।प्रतिनिधिसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत नआए स्वतः जमानत जफत हुने व्यवस्था छ। लिम्बूले ५ हजार ५० मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार यहाँ खसेको कूल मतको ६८ हजार ४ सय ७२ मत सदर भएको छ। यो अनुसार मिलनले ७.३७ प्रतिशत मात्रै मत पाएका छन् ।

यहाँ जम्मा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । जसमध्ये गत शनिबार (वैशाख १५) भएको उपनिर्वाचनमा ६९ हजार ३ सय ७४ मत खसेको थियो । त्यसमध्ये ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।source- tvannapurna

प्रतिक्रिया दिनुहोस्