पाणिनीको अडगुरी झन्द्रेकमा रहेको श्री जनसेवा माविको ३४ औँ वार्षिकोत्सव समारोह सम्पन्न

| २०८० जेठ २ गते २२: २१ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी झन्द्रेकमा रहेको जनसेवा माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितीका प्रमुख जिवनारायण कोईरालाले विकासका पुर्वाधारहरुको सम्पन्नतासँगै शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने बताए ।

उनले दरबन्दी मिलानका समस्याहरु समाधान गर्दै विद्यार्थीको संख्याहेरेर विद्यालयहरु मर्जको नितीमा जानुपर्ने बताए । जहाँ विद्यार्थी संख्या कम छ, त्यहाँको विद्यालय नजिकमा रहेको राम्रो विद्यालय सँग मर्ज गर्ने, विद्यार्थीहरुको सुविधाका लागी यातायातको साधनहरु व्यवस्थापन गर्नेतर्फ जानुपर्नेमा जोड दिए । उनले जनसेवा विद्यालयमा गुणस्तरीय रहेको बताउँदै थप गुणस्तर वृद्धिमा लाग्न आग्रह विद्यालयलाई गरे ।

पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानले गाउँपालिकाले पुर्वाधारको विकास सँगै विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिएको बताए । पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जनसेवा विद्यालय हरेक क्षेत्रमा उत्कृष्ट रहेको बताए । उनले जनसेवामा उत्पादन हुने जनशक्तीले नेपालमै केही गर्नुपर्छ भन्ने उत्पादन गराउँनमा विद्यालयको भुमिका महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य कमल घिमिरे, वडा अध्यक्ष गुनाखर अधिकारी, पाणिनी गाउँपालिका शिक्षा शाखा प्रमुख तेजबहादुर खनाल, पाणिनी बहुप्राविधिक शिक्षालयका प्रमुख मणि गैरे, शिक्षक संघ पाणिनीका अध्यक्ष कृष्ण घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन पाणिनिका अध्यक्ष मिनबहादुर थापा, समाजसेवी युवराज पौडेल, पत्रकार महासंघका सदस्य घनश्याम पौडेल, विद्यालयका निर्वतमान प्रअ प्रेमप्रसाद बेल्वासेले शुभकामना मन्तव्य राखेका थिए।

वद्यालयका प्रअ शालिकराम बेल्वासेले विद्यालयको वार्षिक प्रतिवेदन सहित आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो ।विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षता, शिक्षक इमानबहादुर टण्डनको स्वागत, शिक्षकद्धय गोविन्द पौडेल र माधव बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो । २०४७ सालमा स्थापना भएको विद्यालयमा अहिले १८८ जना विद्यार्थी रहेका छन् । २०६९ सालदेखी जनसेवामा एसएलसी परिक्षाको सुरुवात भएको हो ।

जनसेवामा झन्द्रेक सहित मैदान र धातिवाङ्गको पिरेनी क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्छन । यहाँ मावि विद्यालयको स्थापना नहुदाँसम्म यहाँका विद्यार्थी धातिवाङ्ग मावि र कमला मावीमा अध्ययन गर्दथे । सोही अवसरमा विभिन्न अक्षयदाताले स्थापना गरेका अक्षकोषबाट प्राप्त व्याजको रकमबाट जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थी तथा शिक्षकहरुका अभिनय नृत्य, नाटक प्रस्तुत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्