पाणिनी २ मा जंगली जनावर नियन्त्रण गर्न भोटे कुकुर बितरण गरिने

| २०८० फागुन १६ गते २१: २९ मा प्रकाशित

भिम बिश्वकर्मा ,अर्घाखाँची । पाणिनि गाउँपालिकाको वडा नम्बर २ ले जंगली जनावरको नियन्त्रण गर्न भोटे कुकुर बितरण गर्ने भएको छ  ।”

वडा नं. २ को  आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरबाट किसानको खेती जोगाउनको लागि शुद्ध नश्लका भोटे कुकुर खरिद गरी बितरण गर्ने वडा कार्यालयले जनाएको छ ।

“अहिले ग्रामीण भेगमा बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरले किसानहरूलाई सताइरहेका छन् ।” वडा अध्यक्ष चन्द्रकान्त पौडेलले भने “जंगली जनावरको आतङ्कलाई कम गर्न केही हद सम्म भए पनि सहयोग होस भन्ने उद्देश्यले कुकुर बितरण गर्ने योजना ल्याएका हौं ।”

वडाले एक सूचना जारी गर्दै २५ प्रतिशत लागत साझेदारीमा भोटे कुकुर किसानलाई उपलब्ध गराउने जानकारी गराएको छ । कुकुर पाल्न इच्छुक किसानहरूले १५ दिन भित्र यस वडा कार्यालयमा निवेदन पेश गर्नको वडाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्