विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार

| २०८० जेठ २७ गते १७: १७ मा प्रकाशित

एजेन्सी । जीवन र मृत्युलाई लिएर गाउँघरमा बुढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन सकिदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन।

कोलम्बियामा यस्तै चमकत्कार भएको छ। देशको राष्ट्रिय सेनाले चालीस दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको जीवितै उद्धार गरेको छ। कोलम्बियाका अधिकारीका अनुसार उनीहरूले देशको अमेजन जङ्गलबाट तेह्र, नौ, चार र एक वर्षका बालबालिकालाई उद्धार गरेका गरेका हुन्।

सान होसे डेल ग्वाभियर सहरतर्फ गइरहेको सानो सेस्ना २०६ विमान अराराकुरा जङ्गलमा दुर्घटना हुँदा विमानका चालक र ती बालबालिकाका आमा र एक जना स्थानीय आदिवासी नेताको मृत्यु भएको थियो। घटनास्थलमा उनीहरूका शव भेटिएका थिए तर विमानमा सवार ती बालबालिका हराइरहेका थिए।

विमान जङ्गलका रुखमा वृक्षझै ठडिएको अवस्थामा भेटिएको थियो। सरकारी अधिकारीका अनुसार सशस्त्र समूहको धम्कीका कारण भागेका उनीहरू विमान दुर्घटनामा परेका हुन् ।

दुर्घटनापछि हराएका बालबालिकाको खोजी गर्न कोलम्बिया सरकारले एक सय ६० जना सिपाही र जङ्गल क्षेत्रको सम्पूर्ण जानकारी भएको ७० जना आदिवासी जनजाति सम्मिलित एक विशाल टोली परिचालन गरेर खोजी प्रारम्भ गरेको थियो जसले विश्व समुदायको ध्यान आकर्षित गरेको थियो। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्