कलाकारहरुको रोजाईमा माओवादी: लाेकगायक खत्रीसहित यी दर्जनाैँ कलाकार माओवादीमा प्रवेश

| २०७८ माघ २१ गते १६: ४९ मा प्रकाशित

बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्। बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।

गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए। ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचाररआस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ’, उनले भने।

राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ। आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सँधै क्रियाशील भएर लाग्ने उनले बताए। गलकोट–७ मल्ममा जन्मएका उनले यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरिसकेका छन्।

उनी विसं २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिससमेत भएका थिए। लोकसङ्गीत क्षेत्रमा रूचाइएका गायकरसर्जक खत्रीले सयौँ गीतमा स्वर दिएका छन्।

शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन्। उनले गीतमार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन्। उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन्।

माओवादी केन्द्रले नगर समितिका अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ।

ज्येष्ठ सदस्य आत्मराम शर्माका अध्यक्षतामा बसेको बैठकले पदाधिकारीको टुङ्गो लगाएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ ले जानकारी दिए। पैसठ्ठी सदस्यीय नगर समिति गत मङ्सिरमै सर्वसम्मत निर्वाचित भएपनि पदाधिकारी चयन दुई महिनापछि बल्ल भएको हो। आकाङ्क्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा सहमति जुट्न सकेको थिएन ।

-दर्जनौ कलाकर्मी माओवादीमा प्रवेश

नेपाली कला क्षेत्रका कैयौ हस्तीसहित दर्जनौ कलाकर्मी शनिबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । कलाकारहरुले राजनीति गर्नु हुँदैन भन्ने मान्यता तोड्दै उनीहरु माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर शनिबार माओवादी बनेका हुन् ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कलाकर्मीहरु युवराज लामा, केपी पाठक, राजेन्द्र खड्गी, मौसमी मल्ल, सुवास गजुरेल, शिव रेग्मी, अञ्जु पन्त माओवादीमा प्रवेश गरेका छन् । यस्तै दिपक श्रेष्ठ, छवि ओझा, जयनन्द लामा, निर्मल शर्मा, रामकृष्ण बजगाई, उदय सुब्बा, सुनिलदत्त पाण्डे,सुलेमान शंकर (इकू), हिमाल केसी, रोशन श्रेष्ठ, मौनता श्रेष्ठलगायत चार दर्जन कलाकार पनि माओवादीमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नवप्रवेशी कलाकारहरुले मुलुकको रुपान्तरण र चलचित्र क्षेत्रको विकासको योजना माओवादीमा मात्र रहेको बताएका छन् । कार्यक्रममा उपस्थित भएर पनि औपचारिक रुपमा पार्टी प्रवेश नगरेका कलाकार निर शाहले माओवादीले मात्र मुलुकको हित गर्न सक्ने बताउनुभयो ।कार्यक्रममा रुकुमका एमाले नेता हस्तबहादुर केसी पनि माओवादीमा प्रवेश गर्नुभएको छ । यसअघिसमेत एमालेबाट बरिष्ठ कलाकार जेबी टुहुरेलगायतको समूह माओवादीमा प्रवेश गरिसकेको छ।

युवराज लामा भन्छन्ः माओवादीमा एकदेखि १० सम्म प्रचण्ड हुन्, ११ नम्बरबाट अरु सुरु हुन्छन् (भिडिओ)

लक्ष्मी जि.सी

युवराज लामा मुख्यतः चलचित्रकर्मीकै रुपमा स्थापित नाम हो। तर, उनले आफूलाई एउटा क्षेत्रमा मात्र सीमित भने राखेनन्। चलचित्र निर्माण, निर्देशन, अभिनय गर्दागर्दै उनी चलचित्र विकास बोर्डको अध्यक्ष बने। त्यसपछि उनी आफ्नो पुरानो क्षेत्र खेलकुदमा फर्किए। खेलाडी र प्रशिक्षकका रुपमा वर्षौँअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को चक्कर काटेका उनी २०६८ मा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा राखेप सदस्य सचिव बने। तुलानात्मक रुपमा उनी सफल सदस्य सचिव मानिन्छन्।

२०७२ मा सदस्य सचिवको कार्यकाल पुरा गरेपछि उनी होटल तथा पयर्टन व्यवसायीका रुपमा सक्रिय छन्। चुप लागेर बस्ने आदत भने उनको छैन। बारामा होटल व्यवसायसँगै पयर्टन विकासका योजना बनाउने काममा सक्रिय रुपमा लागेका छन्। समयमासमयमा काठमाडौं फर्कन्छन्। यति बेला उनी काठमाडौंमै छन्। माओवादी केन्द्रको आठौं महाधिवेशनको प्रतिनिधि बनेर यस पटक उनी संघीय राजधानी आइपुगेका हुन्।

लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रशंसक हुन्। सामाजिक सञ्जालमा पनि विभिन्न विषयमा आफ्नो विचार राखिरहेका हुन्छन्। उनलाई कसैले प्रचण्डको ‘पिछलग्गु’ भन्दा पनि खासै फरक मान्दैनन्। महाधिवेशनमा आउने अधिकांशको जस्तै लामा पनि पार्टी अध्यक्षका रुपमा प्रचण्डकै निरन्तरता चाहन्छन्।

लामा आफ्नो धारणा प्रष्ट राख्ने व्यक्तिका रुपमा परिचित छन्। अहिले पार्टीको महाधिवेशनमा प्रस्तुत अध्यक्षको प्रतिवेदन र अध्यक्षका बारेमा पनि उनी प्रष्ट छन्। माओवादी केन्द्र र नेकपा एमाले २०७४ फागुन ७ गते पार्टी एकता भएर नेकपा बनेको थियो। तर, लामालाई भने त्यो एकता मन परेको थिएन।

‘माओवादी र एमाले एकता भएपछि मेरो राजनीतिक सक्रियता सुषुप्त अवस्थामा गयो। त्यो एकता प्रक्रियाबाट माओवादीले लिएको एजेन्डा सही ठाउँमा पुग्दैन भन्ने मलाई लागेको थियो,’ लामा स्मरण गर्छन्, ‘संघीयता, समावेशी लोकतन्त्रको पक्ष र विपक्षमा रहेको पार्टी एक भएपछि त्यो ठिक हुँदैन भन्ने लागेपछि म चुपचाप बसेँ। यद्यपि पार्टी छाडेको भने थिइनँ।’

उनको विचारमा पार्टी एकता मतका लागि, रणनीतिक र सत्ताका लागि ठिक भए पनि अन्य हिसाबले सही थिएन।

‘कालो र सेतो मिसाउँदा कुनै एक रङ देखिँदैन। त्यो एकता त्यस्तै थियो,’ उनले भने, ‘त्यसैले म सक्रिय भइनँ।’

‘एमाले जहाँ पनि एमाले दल हुनपर्छ र जे मा पनि एमाले हुनपर्छ भन्ने थियो,’ उनको आरोप छ, ‘एमाले एउटै नश्ल र जातिका व्यक्तिले सञ्चालन गरेका कारण एउटै प्रवृत्ति छ। माओवादीमा सिंगो देश देखिन्छ।’

माओवादीले तत्कालीन समयमा लिएको एजेन्डा चित्त बुझेर नै आफू २०६५ सालमा पार्टीमा आबद्ध भएको लामा बताउँछन्।

चलचित्र विकास बोर्ड र राखेपको जिम्मेवारी दिएपछि मात्र उनी माओवादी बनेको भन्ने आरोप पनि लाग्ने गरेको छ। लामा त्यसलाई अस्वीकार गर्छन्।

‘बोर्ड र राखेपमा पद दिएको कारण म माओवादी बनेको होइन। पार्टी सत्तामा नहुँदा प्रवेश गरेको हुँ,’ उनले थपे, ‘यहाँ जमिनसँग जोडिएका मान्छेहरु छन्। त्यसैले म माओवादी भएको हो। हो कतिपय लेनिन र मार्क्सका कुरा म बुझ्दिनँ। तर, माओवादी भएपछि दिएको जिम्मेवारीमा मैले काम गरेको हो।’

काठमाडौँमा माओवादीको आठौँ महाधिवेशन जारी छ। आफ्नोतर्फबाट त्यसमा केही सहयोग गर्नपर्छ भनेर केन्द्रीय प्रतिनिधिको रुपमा महाधिवेशनमा भाग लिइरहेको लामा बताउँछन्।

‘अध्यक्ष प्रचण्डले पेस गरेको दस्तावेजमा अहिलेको राजनीति अध्यारो ठाउँमा पुग्यो भन्ने छ। सीमित मान्छेको हातमा अर्थनीति पुग्यो भन्ने छ,’ उनmले भने, ‘आर्थिक रुपमा उत्पादन, वितरण र त्यसबाट मुनाफा कमाउने भन्ने थियो तर अहिले त्यस्तो छैन। बैंक कहिले घाटामा गएको छैन तर बैंकबाट ऋण लिएकाहरु घाटामा गएका छन्। यस्तै पर्यावरणको विषयमा स्पष्ट नीति दस्तावेजले बोलेको छ।’

महाधिवेशनपछि माओवादी २०६४ कै अवस्थामा फर्कनसक्छ भन्ने ठोकुवा गर्ने अवस्था नभए पनि अब पार्टी बलियो हुनेमा लामा विश्वस्त छन्।

‘दस्तावेजमा जनयुद्ध कालदेखि २०६२/६३ जनआन्दोलन सम्म र त्यसपछि २०७८ सम्मको माओवादी र पार्टीले चालेको राजनीतिक रणनीतिहरुको गम्भीर र निर्ममतापूवर्क समीक्षा भएको छ। पार्टी अध्यक्षले यो गल्ती मेरो कारणले भएको भनेर पनि समीक्षा गर्नुभएको छ। अहिलेको दस्तावेज माओवादी र देशलाई नै नयाँ कार्यदिशा दिने खालको छ,’ उनले थपे।

अन्य अधिकांश सहभागीजस्तै लामा पनि माओवादीमा प्रचण्डको विकल्प तत्कालका लागि देख्दैनन्।

‘मलाई प्रचण्डको झोले र पक्षपाती भन्ने आरोप लाग्ने गरेको छ तर प्रचण्डको भिजन र उहाँको विचार हेर्दा एकदेखि १० सम्म प्रचण्ड आफैँ उठ्ने हो। अन्य साथीहरु ११ नम्बरबाट बाट सुरु हुन्छ,’ उनले भने, ‘धेरैले प्रचण्डले केही गरेन, आफैँ प्रचण्ड हुन्छु भनेर गएका छन्। बाबुराम जानुभयो। मोहन वैद्य जानु भयो। उहाँहरुको हालत हेर्नुभएको छ? अहिले उहाँहरु कहाँ हुनुहुन्छ। प्रचण्ड कहाँ हुनुहुन्छ? कति त अहिले एकता प्रक्रियामा आउनु भएको छ। प्रचण्ड एकैपटक प्रचण्ड भएका होइनन्।’

लामाको बुझाइ छ, नेतृत्व परिवर्तन त हुन्छ नै तर अहिले हतार गर्नुहुन्न। युवा र त्यागी नेताहरुले मेहनत गर्नुपर्ने उनको सुझाव छ। लामा आफँै भने केन्द्रमा आउन हतारिएका छैनन्।

‘म आउनुपर्छ भन्ने छैन। म काम गर्ने मान्छे हुँ। पार्टीले काम दिँदा पार्टीको काम गर्ने हो। काम नदिदा आफ्नो काम गर्ने हो,’ उनले भने।

लामा चुरे संरक्षण तथा पर्यटन प्रवर्तन अभियानमा पनि सक्रिय छन्। त्यसको सञ्जाल २१ जिल्लामा विस्तार भइसकेको छ। त्यसका उनी केन्द्रिय संयोजक हुन्। त्यसका अलावा होटल तथा पर्यटन व्यावसायी महासंघमा आबद्ध छन् भने पार्टीको खेलकुद विभागमा पनि छन्।

‘पद भन्ने कुरा ठूलो होइन, काम जहाँबाट पनि गर्न सकिन्छ,’ उनी भन्छन्।

नेपाल खबर बाट साभार ।

प्रतिक्रिया दिनुहोस्