बागलुङमा रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृ'त्यु, २५ जना घाइते

| २०८० चैत ५ गते १९: ३० मा प्रकाशित

रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले बताए।

मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परेर मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। अहिले पनि उद्धार कार्य जारी रहेको बागलुङ प्रहरी प्रमुख एसपी कँडेलले बताए। 

घटनास्थल पुगेका निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बसमा कति जना थिए भन्ने पनि यकिन भइसकेको छैन। जंगल र भिरालो ठाउँमा दुर्घटना भएकाले घाइते र मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए। 

‘खोल्सामा अझै पनि यात्रुको खोजी भइरहेको छ, बसका चालकको पनि मृत्यु भएको छ,’ उनले भने, ‘रात परिसक्यो, अझै खोल्सामा यात्रुको खोजी गरिराखेका छौं।’ 

घाइतेको उपचार गर्न प्राथमिक उपचार केन्द्र बुर्तिवाङ पठाइएको छ। दुर्घटनामा परेका यात्रुको खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको पहिचान भइसकेको छैन।

मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि पश्चिम रूकुम, रूकुम, दाङको चौरजहारीदेखि पोखरा हुँदै काठमाडौं सार्वजनिक बस सञ्चालनमा छ ।स्रोत - सेतोपाटी

प्रतिक्रिया दिनुहोस्