चौरासी पूजा गर्न अर्घाखाँचीमा नगरपालिकाले आर्थिक सहयोग दिने

| २०८० असार १ गते १४: २३ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सुरुवात गरेको छ ।

आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो । आर्थिक सहयोग पाएकामा ज्येष्ठ नागरिक खुसी भएका छन् ।

चुनावको सययमा नगरप्रमुखले बोलेका बाचा पूरा गरेकामा शीतगङ्गा ३ का ज्येष्ठ नागरिक खिमानन्द पौडेल निकै खुसी हुनुभयो । ग्रामीण क्षेत्रका धेरै ज्येष्ठ नागरिकले चौरासी पूजाका लागि नगरपालिकासंग आर्थिक सहयोग गर्न माग गरेका थिए । तीन सय १९ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको नगरप्रमुख छविलाल पौडेलले बताउनुभयो ।

नगरका १४ वडाका वृद्धवृद्धालाई लक्षित गरी रु ८० लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानसहित नगद वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको भनाइ छ ।

कम खर्चमा चौरासी पूजा गरेर बचेको रकमबाट मन लागेका खानेकुरा खान र औषधोपचार गर्नलाई केही भए पनि राहत पुगेको ज्येष्ठ नागरिकको भनाइ छ । शीतगङगा भौगोलिक दृष्टिकोणमा सबैभन्दा ठूलो नगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस्