सन्धिखर्कमा खेतीयोग्य जमिन बाँझाे राखे दाेब्बर तिराे तिर्नुपर्ने

| २०८० असार १० गते २१: २६ मा प्रकाशित

प्रेमनारायण आचार्य, अर्घाखाँची। अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा कृषियाेग्य जमिन बाँझाे राखेमा दाेब्बर रकम तिराे तिर्नुपर्ने भएको छ । कृषि उत्पादन बढाउन भन्दै नगरपालिकाले खेतीयोग्य जमिन बाँझाे राखेको खण्डमा दाेब्बर रकम तिराे तिर्नुपर्ने नीति तथा कार्यक्रम पास गरेकाे छ ।

नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले आज आइतवार आउँदाे आर्थिक वर्ष २०८०/८१ लागि कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

कृषि र पशुपालनबाट हुने उत्पादनमा अनुदानको व्यवस्थापन गर्ने, कम लागतमा बढी उत्पादन गर्न यान्त्रिकीकरण र आधुनिकीकरण गर्नेलगायतका कार्यक्रम सन्धिखर्क नगरपालिकाले गर्ने भएको छ ।

सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई सन्धिखर्क बजार हुँदै एसियाकै सबैभन्दा ठूलाे भगवती देवीको मूर्ति भएको ठाउँ अर्घा भगवती मन्दिर र अर्घा दरबारमा लैजान निजी क्षेत्रसँग सहकार्य गरेर सार्वजनिक गाडी सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयाे ।

पालिकाले रैथाने बालीको संरक्षण गर्ने, पर्यटनका लागि पदमार्ग निर्माण गर्ने भएको छ । तारे हाेटल र स्वदेशी कच्चा पदार्थकाे प्रयोग गरेर उत्पादन गर्ने उद्योग सञ्चालन गरेमा राजस्व दस्तुरमा ५० प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाभित्र रहेका वादी समुदाय र गन्धर्व समुदायकाे नगरपालिकाले  निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाकाे याेगदानकाे मूल्याङ्कन गर्दै निःशुल्क स्वास्थ्य बिमा गरिने उल्लेख छ ।

यस्तै नगरभित्रका मुख्य सडकको स्तराेन्नति र कालाेपत्र गर्ने, घरघरमा खानेपानी पुर्‍याउनेलगायतका कुरा समावेश भएकाे नीति तथा कार्यक्रम नगरपालिकाले पास गरेको छ ।

यस्तै उपमेयर मिश्रा आचार्यले आजै आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर एक अर्ब एक कराेड ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । 

बजेटमा पुँजीगत खर्च ३२ कराेड, चालु खर्च ५१ करोड ४५ लाख र सामाजिक सुरक्षा खर्च १८ करोड रुपैयाँ रहेको छ । आज प्रस्तुत भएको बजेट १३ गते बस्ने नगरसभाले पास गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्