मदन भण्डारीको मृत्यु ‘मिस्ट्री’

| २०७८ असार १४ गते १५: ०२ मा प्रकाशित

बाँचिरहेको भए नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले असार १४ मा ७० औं जन्मदिन मनाउने थिए । २८ वर्षअघि अर्थात् २०५० जेठ ३ गते चितवनको दासढुंगामा सहयोद्धा जीवराज आश्रितसहित ज्यान गुमाएका भण्डारीको राजनीतिक जीवन छोटो भए पनि ‘चामत्कारिक’ रह्यो । जनताको बहुदलीय जनवादको नवीन सिद्धान्त र धाराप्रवाह भाषणको छाप र रापताप अद्यापि छँदै छ ।

नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका अविस्मरणीय नेता भण्डारीको निधनलाई नेकपा एमालेले राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति केन्द्रको सुनियोजित योजनामा ‘हत्या’ गरे पनि सरकारी छानबिन आयोगले ‘जिप दुर्घटना’ मात्र मान्यो ।

दासढुंगा काण्डका नाममा चार वटा आयोग गठन भए । सरकारको तर्फबाट पूर्वन्यायाधीश प्रचण्डराज अनिल आयोग बन्यो । एमालेका तर्फबाट तत्कालीन स्थायी समिति सदस्य केपी शर्मा ओलीको एकल आयोग बन्यो भने जनस्तरबाट पद्मरत्न तुलाधरको संयोजकत्वमा अर्को आयोग बन्यो ।

अनिल आयोगको प्रतिवेदन चित्त नबुझेपछि एमालेले देशव्यापी आन्दोलन गर्यो । तत्कालीन न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा चौथो आयोग पनि बन्यो । तर यी कुनै पनि आयोगले विश्वसनीय प्रतिवेदन दिएनन् ।

पार्टीबाट बनेको ओली आयोगको प्रतिवेदन अहिलेसम्म ‘गोप्य’ नै छ । त्यो प्रतिवेदन अहिले कहाँ छ ? कसैलाई थाहा छैन । केन्द्रीय कार्यालय बल्खुको लाइब्रेरीमा समेत भेटिएन । ‘हत्या’ र ‘दुर्घटना’ को पहेलीबीच मदन-आश्रित काण्ड ३ दशकसम्म ‘रहस्य’ मै छ । यो समाधान निकाल्नै नसकिने रहस्य हो या रहस्यमा राखेजस्तो मात्र गरिएको हो ? सर्वसाधारणको उत्सुकता छ ।

घटना विवरण अनुसार मदन भण्डारी र आश्रित एमाले, कास्की जिल्लाको तेस्रो अधिवेशन उद्घाटन गरेर चितवन फर्किंदै थिए । आँवु खैरेनीसम्म गोरखा जिल्ला कमिटीका सचिव ऋषि कट्टेल पनि थिए । सिमसिमे पानी परिरहेका बेला मुङलिनमा सडकको झुपडीमा उनीहरुले चिया खाए । त्यसपछि जिप दासढुंगा सडकको दाहिनेपट्टिबाट १५० फिटमुनि त्रिशूली नदीमा खस्यो ।

घटनापछि आश्रितको शव गाडीमै भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि अलि तल नारायणी नदी किनारमा तीन दिनपछि भेटिएको थियो । घटना लगत्तै एमालेको एकल सरकार बन्यो । अहिलेसम्म एमाले नेताको नेतृत्वका पाँच वटा सरकार बनिसकेका छन् । हाल भण्डारीकी धर्मपत्नी दोस्रो कार्यकालको राष्ट्रप्रमुख र एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री रहेका छन् । तर मदन-आश्रित काण्डको गम्भीर अनुसन्धान गरी यथार्थ रिपोर्ट बाहिर ल्याउन कुनै कदम चालिएको छैन ।

अदालतबाट दोषी ठहर भई सजाय भोगेका घटनाका एक मात्र जीवित साक्षी रहेका चालक अमर लामाको २०६० साउन ११ गते कीर्तिपुरमा रहस्यमय हत्या गरियो । तत्कालीन माओवादीले घटनाको जिम्मेवारी लिएको थियो । अमर लामालाई किन खेदीखेदीकन हत्या गरियो ? प्रश्न निरुत्तर छ ।

घटनालाई ‘रहस्यमय’ भन्ने एउटा बलियो आधार थियो- जिप खस्यो तर ड्राइभर बाँचे । चालक लामाको बयान अनुसार उनी पनि सँगै खसेका थिए । तर पौडिएर निस्किन सफल भए । तल गाडीमा बजारिंदै झर्दा पनि उनको शरीरमा किन चोट लागेन ? अर्को कुरा- सजिलो बाटोमा गाडी एक नम्बर गियरमा र फोर-ह्विल न्युट्रलमा राखेर किन चलाइएको थियो ?

दासढुंगाको घटना प्रकृतिमा भुस बालुवाका धार आदि त शंकास्पद थिए नै । त्यसैगरी पोस्टमार्टम रिपोर्ट पनि शंकास्पद नै रह्यो । पोस्टमार्टम रिपोर्टमा मदन भण्डारीको सास अवरुद्ध भएर मृत्यु भएको उल्लेख छ । तर यतिका भरमा ‘हत्या’ मान्न प्रमाण पुग्दैनन् ।

नेपालको इतिहास षडयन्त्र नै षडयन्त्रको पुलिन्दा मान्नु एउटा कुरा हो । मदन-आश्रितको मृत्युलाई सधैंभरि ‘मिस्ट्री’ बनाइरहनु पर्ने कुनै कारण देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्