विदेशबाट ऋण ल्याएर प्रदेश सांसद पाल्न सकिँदैन : सांसद शाही

| २०७९ चैत २३ गते १७: ५७ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विदेशबाट लिएको ऋण कहाँ गयो भन्दै प्रश्न गरे ।

‘विदेशबाट ऋण ल्याएको–ल्याएकै गर्ने । यहाँ युवाहरू हरेक दिन बेरोजगारी बढेकोबढेकै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक–एक हिसाबकिताब अहिलेका प्रधानमन्त्रीले र आजसम्म भएका प्रधानमन्त्रीहरूले दिनुपर्छ । विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयो ?’ शाहीले भने ।

पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ खर्च भएको भन्दै उनले संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको बताए । कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति हाबी भएको उल्लेख गर्दै उनले भने, ‘प्रदेश एउटा पहिचानका लागि चाहिन्छ । एउटा देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्न चाहिन्छ । तर, आज देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने, कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश–विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’रासस 

प्रतिक्रिया दिनुहोस्