व्यवसायी अग्रवालको मृत्युको कारण पारिवारिक झगडा

| २०८० माघ १० गते २०: २९ मा प्रकाशित

१० माघ, धनगढी । घरको छतबाट हाम फालेका धनगढीका व्यवसायी सन्तोष अग्रवालको परिवारमा अंशवण्डासम्बन्धी विवाद रहेको पाइएको छ ।

धनगढी उपमहानगरपालिका-४ को बसपार्कमा आफ्नै घरको तल्लो तलामा सन्दीप स्टोर सञ्चालन गरेर श्रृङ्गार सामानको होलसेल व्यवसायी अग्रवालको बुधबार नवजीवन अस्पतालमा मृत्यु भएको थियो ।

छोरासँग अंशबण्डाको विषयमा विवाद भएपछि घरको पाचौं तलाबाट हामफालेका अग्रवालको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार काठमाडौं बस्दै आएका जेठा छोरा बुधबार बिहान घर आएका थिए । कान्छा छोरा भने सन्तोषसँगै धनगढीमा बस्थे ।

प्रहरी स्रोतका अनुसार अग्रवाल बिहान आफ्नै पसल सन्दीप स्टोरमा काम गरिरहेका थिए । त्यहीँ पुगेर जेठा छोराले अंशबण्डाको विषयमा कुरा उठाएपछि विवाद भएको थियो । त्यसपछि सन्तोषले छोरालाई ‘तिम्रो आमालाई बोलाएर ल्याउँछु पख’ भन्दै पसलबाट माथि गएका थिए ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा अग्रवाल घरको छतमा चढेका बेला स्थानीयले त्यसो नगर्न भनेको सुनिन्छ तर उनी कसैको कुरा परवाह नगरी हाम फालेको देखिएको छ ।

प्रहरी स्रोतले भन्यो, ‘पसलमा बिल काटिरहनुभएका उहाँ विवादपछि तिम्रो आमालाई बोलाएर ल्याउँछु भनेर घरभित्र प्रवेश गर्नुभएको रहेछ तर एकाएक छत माथिबाट भुइँमा हाम फाल्नुभयो ।’

अग्रवाललाई परिवारका सदस्य र छिमेकीले नै अस्पताल लगेका थिए । अग्रवालको  कान्छा छोराको विवाह केही महिना अघिमात्र भएको थियो । उनको परिवारमा अंशबण्डा सम्बन्धी पहिल्यैदेखि विवाद रहेको समेत पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले आधिकारिक रुपमा भने घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले अग्रवालको छतबाट हाम फालेको घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘उहाँले बिना कारण घरको छतबाट हाम फाल्ने कुरा हुँदैन तर अहिले परिवारका सबै सदस्यहरु शोकमा भएकाले धेरै कुरा बुझ्न पाइएको छैन’, डीएसपी चन्दले भने, ‘घटनाको कारणबारे आवश्यक सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको छ ।’स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्