प्रचण्डका पूर्वसुरक्षा प्रमुखले भने- तपाईं छविलाल बन्दै हुनुहुन्छ!

रक्षात्मक नेतृत्व, आक्रामक कार्यकर्ता

| २०८० सावन १९ गते २१: ५९ मा प्रकाशित

माओवादी केन्द्रले २०७८ पुसमा प्रज्ञा प्रतिष्ठानको जुन हलमा बसेर महाधिवेशन गरेको थियो, त्यसयताको चौथो केन्द्रीय कमिटी बैठक त्यही हलमा सञ्चालन गरिरहेको छ।

शुक्रबार तेस्रो दिनको बैठक सकिँदासम्म ४०७ मध्ये माओवादीका झन्डै सय जना केन्द्रीय सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को मौखिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन्।

लिखित प्रतिवेदन वितरण नगरिएकाले साउन १७ गते प्रचण्डले वाचन गरेको प्रतिवेदन सम्झिएका आधारमा उनीहरूले टिप्पणी गरिरहनुपरेको छ।

'पार्टी बिग्रिँदै गयो, अब नेतृत्वलाई सचेत बनाउनुपर्छ' भनेर देशभरबाट काठमाडौंमा भेला भएका केन्द्रीय नेताहरू तेस्रो दिनसम्म आइपुग्दा अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि नै धेरै केन्द्रित भएका छन्।

केन्द्रीय सदस्य युवराज चौलागाईंका अनुसार राजनीतिक रूपमा प्रचण्ड सफल भए पनि सांगठनिक रूपमा उनमा कमजोरी देखिएको धारणा बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले राखेका छन्।

'यो बैठकमार्फत कार्यकर्ताले नेतृत्वलाई दबाब सिर्जना गर्न खोजेको देखिएको छ,' केन्द्रीय सदस्य चौलागाईंले सेतोपाटीसँग भने, 'राजनीतिक रूपमा प्रचण्डको विकल्प माओवादीले खोज्दैन। तर संगठनात्मक रूपमा उहाँको उपादेयतामाथि प्रश्न उठेको छ। जसलाई पनि हुन्छ भन्ने तर ठोस रूपमा जान नसक्ने भन्ने आलोचना अधिकांश केन्द्रीय सदस्यबाट भएको छ।'

प्रचण्डले राजनीतिक तथा सांगठनिक दस्तावेज पेस गर्दै पार्टी पुनर्निर्माण र विघटनको दोसाँधमा रहेको बताएका थिए।

प्रतिवेदनको भूमिकाको पहिलो वाक्यमै भनिएको थियो, 'हाम्रो पार्टी व्यापक पुनर्निर्माणको सम्भावना र विघटनको खतरामा छ।'

छलफलको तेस्रो दिनसम्म आइपुग्दा केन्द्रीय सदस्यहरू पुनर्निर्माणको सम्भावनाबारे प्रचण्डले गरेको संकेतभन्दा विघटनको खतरा औंल्याएको प्रति नै बढी केन्द्रित भएका छन्।

उनीहरूले पार्टी बिग्रिनुका पछाडि मुख्य जिम्मेवार प्रचण्डलाई नै मानेका छन्। तर पार्टी नेतृत्वमा प्रचण्डको विकल्प पनि देखेका छैनन्।

यो विरोधाभास किन? 

केन्द्रीय सदस्य सरल सहयात्री पौडेलले भने, 'प्रचण्डलाई पराजय गरेर नेतृत्व नै लिन्छु भन्नेमा अहिले कोही नेताहरू हुनुहुन्न। तर सांगठनिक रूपमा जे जति कमजोरी भएका छन्, त्यो नेतृत्वबाटै भएको हो भन्ने नेताहरूको मत हो। पार्टीको विधि र संगठनात्मक कुराको उल्लंघन नेताहरूबाटै हुन्छ। अहिले हाम्रो पार्टीमा सबभन्दा धेरै खट्केको कुरा विधि नै हो। बैठकमा पनि त्यसैगरी कुरा उठिरहेको छ। नेताहरू भेलामा आउँदा कार्यकर्ताले उठाएका कुरा हुन्छ, गर्छु नै भन्ने र भेला सकिएपछि दायित्व पूरा भएको जस्तो मान्छन्। तर यसपालि कार्यकर्ताले सचेत ढंगले कुरा उठाएका छन्। मञ्चमा बस्नेहरूले पनि गम्भीरतापूर्वक नै लिएका होलान्।'

एकातिर पार्टी विघटनको खतरामा छ भनिरहेको माओवादी नेतृत्वले अर्कातिर पार्टी पुनर्निर्माणको अवसर फेरि यसपालि नै आएको दाबी गरिरहेको छ। 

'फ्लोर' मा रहेका केन्द्रीय सदस्यहरू लगातार आलोचनात्मक हुन थाल्दा बैठक सञ्चालन गर्ने महासचिव देव गुरूङ एक जना पदाधिकारीलाई बोलाएर छलफल ट्रयाकमा ल्याइरहेका हुन्छन्। पदाधिकारीले बोल्दा पार्टी नेतृत्वले ठीकै काम गरिरहेको र सरकारले आशा लाग्दा कामहरूको सञ्चार गरिरहेको बताउने गरेका छन्।

केन्द्रीय सदस्य ओमविक्रम भाट बैठकमा प्रायः नेताहरूले सरकारको प्रशंसा गर्ने र पार्टीको प्रवृत्तिमाथि आलोचनात्मक ढंगले प्रस्तुत भइरहेको बताउँछन्।

'पार्टीप्रति आलोचना र सरकारमाथि सर्मथन देखिन्छ,' भाटले भने, 'धेरै लामो समयपछि पार्टीमा खुलेर सबैले आफ्ना मत प्रकट गर्ने अवसर पाएका छन्। त्यसैले पनि होला छलफल जिवन्त भएको छ।'

कसले के भने? 

शुक्रबारसम्म झन्डै सय जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिसकेका छन्। नाम टिपाएकामध्ये अझै दुई सय जना बोल्न बाँकी रहेको महासचिव देव गुरूङले जानकारी दिए।

शुक्रबार बोल्ने अधिकांशले प्रचण्डको संगठनात्मक कार्यशैलीमाथि नै प्रश्न उठाएका छन्।

केन्द्रीय सदस्य प्रकाशचन्द्र पाण्डेले पार्टी अध्यक्ष प्रचण्डबाट पुष्पकमल हुँदै छविलालमा पुगेर टुंगिने यात्रामा रहेको बताए।

'प्रचण्डबाट पुष्पकमल हुँदै छविलालमा टुंगिने या फर्केर प्रचण्ड हुने, यो चुनौतीमा तपाईं हुनुहुन्छ,' पाण्डेले भने, 'भावुक र पारिवारिक मनोविज्ञानले ग्रस्त भएर पनि यसो भएको हुन सक्छ।'

उनले प्रचण्डको नाम बेचेर नयाँ आउने युवा पंक्तिलाई धुलिसात पार्न खोज्नेहरूलाई प्रचण्डले चिन्न जरूरी रहेको बताए। 

'प्रचण्डको नाम बेचेर अरूलाई दमन गर्ने प्रचण्ड तल पनि थुप्रै छन्। युवाहरूमाथि दमन छ,' पाण्डेले भने। 

संविधान सभा विघटन गरेलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरूले सुरक्षामा खटिएका सरकारी सुरक्षाकर्मीको संख्या घटाएपछि पाण्डे पूर्वजनमुक्ति सेनाको तर्फबाट प्रचण्डको सुरक्षा प्रमुख भएर बसेका थिए। त्यसअघि माओवादी शान्ति प्रक्रियामा आइसकेपछि र प्रचण्ड २०६५ सालमा प्रधानमन्त्री नहुँदासम्म उनी प्रचण्डको सुरक्षामै खटिएका थिए।

केन्द्रीय सदस्य गोपाल शर्माले प्रचण्डकै नेतृत्वमा बनेको संगठन प्रचण्डकै नेतृत्वमा विघटन हुने ठाउँमा पुगेको बताए। 

'२३८ सांसद चुन्ने भीमकाय पार्टी पनि तपाईंकै नेतृत्वमा बनेको हो। ३२ सिटमा पनि तपाईंले नै खुम्च्याउनुभएको हो,' शर्माले भने, 'पार्टीलाई नेतृत्व दिने अरू पनि छन्। अब तपाईंले छोड्नुपर्छ।'

उनले प्रचण्डको प्रतिवेदनले आशा जगाएको भए पनि यस्ता प्रतिवेदन धेरैपटक आएकाले कार्यान्वयन हुन्छ भन्नेमा शंका लागेको बताए।

त्यस्तै झक्कु सुवेदीले विचारमा गल्ती नगर्ने तर संगठनमा गल्ती गर्ने प्रचण्डको शैली नै भएको टिप्पणी गरे। 

बारम्बार विधान संशोधन गरेर केन्द्रीय सदस्य थपेको प्रति पनि उनले प्रचण्डको आलोचना गरे।

'देशको संविधानजस्तै पार्टीको विधान हो। मिच्न पाइन्छ? ६ सय जना थेग्ने हैसियतको पार्टी हो यो? के गरेको?' सुवेदीले भने, 'अरूलाई दोष दिएर हुँदैन। प्रचण्डले नबनाई यो पार्टी बन्दैन।'

Seto Pati

प्रतिक्रिया दिनुहोस्