सहयोग गर्ने क्रिकेटर र परिवारलाई सम्झिँदा भावुक हुँदै क्रिकेटबाट बिदा भए ज्ञानेन्द्र

| २०८० सावन १९ गते २२: ०३ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्न थालेको १८ वर्षपछि ज्ञानेन्द्र मल्लले बल र ब्याट थन्काउने निर्णय गरेका छन्। 

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजन गर्दै उनले सबै खाले क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्। 

क्रिकेट क्षेत्रमै रहेर काम गर्न इच्छुक भएको बताएका उनले प्रशिक्षणमा आउने संकेत गरे। उनले ग्रासरूट क्रिकेटमा काम गर्ने इच्छा रहेको बताए। 

पत्रकार सम्मेलनमा भावुक बनेका उनले आफ्ना परिवार र समर्थकलाई धन्यवाद दिए। 

उनले भने, ‘आजदेखि नै संन्यासको घोषणा गर्न चाहान्छु। यत्रो वर्ष देशका लागि क्रिकेट खेलें। संन्यास लिने यो सही समय हो जस्तो लाग्छ। पत्रिका पानीमा भिजाएर रबर बेरेर बनाएको बलमा क्रिकेट खेलेर राष्ट्रिय टिममा जोडिएको दुई दशक हुन लागिसकेछ।’

उनले देशका लागि खेल्ने अवसर पाएकोमा निकै सन्तुष्टि मिलेको समेत बताए।

‘१८ वर्षसम्म देशको चन्द्रसूर्य अंकित जर्सी लगाएर खेल्ने अवसर पाएँ। राष्ट्रको आशा र सपनाको प्रतीक बनेर मैदानमा उत्रिँदा इमानदारीका साथ शतप्रतिशत दिने प्रयास गरें। यो अवसरका लागि म धेरै कृतज्ञ छु। आएका कठिन परिस्थितिलाई सिकाइको रूपमा लिएँ। म निकै सन्तुष्ट छु,’ उनले भने। 

काठमाडौं भिमसेनस्थानका ज्ञानेन्द्र आफ्नो टोलका अग्रज साथीभाइ, क्लब र परिवारलाई सम्झिँदा निकै भावुक बने।

‘सानो हुँदादेखि नै मलाई यो खेल्न प्रेरित गर्ने मेरो टोल भिमसेनस्थानका अग्रज दाइहरू, विशेष गरेर रोशन दाइ, साथी भाइहरू  मेरो क्रिकेटलाई राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग गर्ने यङगाल क्लब, यङगाल क्लबका खेलाडी साथीहरू, विनोद राजभण्डारी दाइलाई सम्झन चाहन्छु। विशेषगरी मेरी श्रीमती, जसले मेरो हरेक सुखदु:खमा साथ दिइन्। छोरी मेरो क्रिकेट र क्रिकेट बाहिरको खुसी भइन्। सम्पूर्ण आफन्तलाई सम्झन चाहन्छु’ यति भनिसक्दा ज्ञानेन्द्रको गला अवरूद्ध भयो भने आँखाभरी आँसु छचल्कियो।

उनले आफूलाई सहयोग गर्ने प्रशिक्षक, क्यान अफिसयल तथा समर्थकलाई पनि धन्यवाद दिए।

उनले भने, ‘मेरो क्रिकेट करिअरलाई आकार दिन भूमिका खेल्नुहुने प्रशिक्षकहरू क्यान अफिसयलहरू अनि  क्रिकेट समर्थकप्रति आभारी छु। मैले मैदानमा ब्याट उचाल्दा प्यारापिटमा रहेर हौसला र ऊर्जाले प्राण भरिदिनु हुने अनि जितमा खुसी आँसु र हारमा अर्को पटक जित्न उत्प्रेरणा दिनुहुने दर्शक र समर्थकको माया मेरो जीवनको जिउने आधार भइरहनेछ।’

नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्र २०७६ को कात्तिकमा राष्ट्रिय टिमको कप्तान बनेका थिए।

दश वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो। उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिएँ। 

तर उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटाएको थियो। खेलाडी वर्गीकरणमा भएको त्रुटिको विषयमा आफ्नो असन्तुष्टि सेतोपाटीमा व्यक्त गरेका ज्ञानेन्द्रलाई अन्यायपूर्ण रूपमा कप्तानबाट हटाएको थियो। ज्ञानेन्द्रलाई कप्तानबाट हटाएपछि क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो। 

कप्तानबाट हटेपछि उनले दुई वर्ष राष्ट्रिय टिमबाट खेले। पछिल्लो पटक आइसिसी एकदिवसीय छनोटमा आयरल्यान्डविरूद्ध खेलेका थिए। जिम्बावेको हरारेमा भएको खेलमा उनी ७ रनमा आउट भएका थिए।

ज्ञानेन्द्र सन् २००५ मा नेपालको यू-१५ टिममा परेका थिए। त्यही वर्ष उनी नेपालको यू-१७  र यू-१९  टिममा मात्र परेनन् सिनियर टिममा समेत पर्न सफल भएका थिए। उनले एकै वर्ष नेपालको तीन वटा उमेर समूह (यू-१५, यू-१७ र यू-१९) सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाएका थिए। सिनियर राष्ट्रिय टिममा डेब्यू भने उनले सन् २००६ मा नामिबियामा गरे। 

उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन्। यस्तै ४५ टी-२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्।

सेतो पाटि 

प्रतिक्रिया दिनुहोस्